काठमाडौँ, ३० बैशाख। ससदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने भन्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिवद्धता जनाएका छन्। विधेयक फिर्ताको माग राखेर सोमबार बिहान ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।
‘विधेयकमा सञ्चार जगतको सरोकारबारे संसद्, संसदीय समितिमा पर्याप्त छलफलको वातावरण बनाउन सहयोग गर्नेछु,’ उनले भने। पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थाहरुले संविधानको मर्म र भावनाविपरित संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तुरुन्त फिर्ता लिएर सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनु पर्ने बताउँदै आएका छन्।
साताव्यापी आन्दोलन घोषणा गरेको महासंघले मध्याह्न ३ः३० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। महासंघले वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गर्दैछ। प्रेस विरोधी विधेयकको विरोधमा जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने भएको छ। त्यही दिन महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालमया सरोकार पक्षबीच वृहत छलफल गरिने तयारी भइरहेको महासचिव रमेश विष्टले जानकारी दिए।
जेठ ३ गते काठमाडौंमा संसद् भवन बाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शन गरिने महासंघले जनाएको छ। २७ शाखमा घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार महासंघले नेपाल बार एसोसियसन, कानूनविद्, सञ्चारविद्, महासंघका पूर्वपदाधिकारी तथा सम्पादकहरूसँग छलफल गरेको थियो ।