काठमाडौँ, ३० वैशाख। नेकपाका महासचिव बिष्णु पौडेलले विकास निर्माणका काममा जनप्रतिनिधिलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेको पूर्वबजेटका सिद्धान्त तथा प्राथमिकतामाथि प्रतिनिधिसभाको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्रीसमेत रहेका सत्तारुढ दल नेकपाका महासचिव पौडेलले इतिहासकै तीव्र आर्थिक वृद्धि गर्ने बजेट ल्याउन सम्भव रहेको बताएका हुन्।
संघ, प्रदेश र स्थानीय तहबीच जीवन्त समन्वय र सहाकार्यलाई पूर्वबजेटले स्पष्ट ढंगले अघि सारेकाले आर्थिक सम्वृद्धि सम्भव रहेको उनको भनाइ थियो। तीनै तहको समन्वयमार्फत सुशासनको स्थापना गर्ने, प्रगतिशील र लगानीमैत्री राजश्व प्रणालीलाई अबलम्बन गर्ने संकल्प आउनु राम्रो भएको उनको भनाइ छ। दिगो विकासका लागि सहयोगी हुने द्रुतमार्ग, विमानस्थल, रेलमार्ग, जलको बहुआयामिक उपयोग, विद्युत प्रसारण लाइन र शहरी विकासमा लगानी केन्द्रित गर्नुपर्ने बताए ।
उनले विकास अभियानको बाधकको रुपमा सार्वजनिक खरिदि प्रक्रिया उभिएको भन्दै त्यसका प्रतिकुल प्रबन्धलाई बदलेरमात्र विकास सम्भव हुन्छ भननेमा सबै सहमत भएको बताए ।
महासचिव पौडेलले विकास र जनप्रतिनिधि एक अर्कासँग आबद्ध हुनुपर्ने भन्दै अर्थमन्त्रीले विकास प्रयासमा प्रतिनिधिसभा,राष्ट्रियसभा लगायत सबै जनप्रतिनिधिसँग परामर्श गर्ने विश्वास व्यक्त गरे। चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि र २७ प्रतिशतको राष्ट्रिय बचत ठूलो उपलब्धी भएको भन्दै आगामी आर्थिक वर्षलाई इतिहासकै तीव्र आर्थिक वृद्धिको वर्ष हुने गरी बजेट ल्याउनसमेत आग्रह गरे।