काठमाडौँ, ३० बैशाख। नेपाली चलचित्र क्षेत्रमा दिनहुँजसो नयाँनयाँ नाम सुन्न र अनुहार देख्न पाइन्छ। हामीले सुनेका नाम र देखेका अनुहारमध्ये केहि नाम र अनुहारले मात्र आफ्नो साख जोगाउन सफल भएका उहादहरण पनि नभएको होइन। त्यही आफ्नो साख जोगाउन सफल भएका नाममध्ये गिरिष रिजाल ‘समीप’ पनि एउटा सफल नाम हो। विगत डेढ दशकदेखि नेपाली चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा संघर्षरत उनी हाल चलचित्रको निर्देशन तथा अभिनयतर्फ पनि जम्न थालिसकेका छन्।
गुल्मीको मुसिकोटमा जन्मिएर रुपन्देहीको देवदहमा हुर्किएका उनी सानै उमेरदेखि साहित्य र कलाकारिता क्षेत्रमा रुचि राख्थे। जिल्लास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिताहरुमा उनी सफललता हासिल गर्न सक्थे, जसकारण प्रतिभावान विद्यार्थीको दर्जा कमाउनसमेत सफल भएका व्यक्ति हुन्। अभिभावक भने छोरो डाक्टर बनेर जनताको सेवा गरोस् भन्ने चाहन्थे। तर, छोराको रुचि भने दिनानुदिन साहित्य तथा कलाकारिता क्षेत्रमा झनै गहिरिँदै जान थाल्यो। उनले आफ्नो रुचिलाई चलचित्रको पर्दामार्फत अभिनयमा उतार्ने प्रयास पनि गरे। केही चलचित्रले सफलता पनि पाए।
अभिनयको अनुभव लिइसकेका रिजाल थप सीप र क्षमता विकासको लागि भारतको मुम्बई छिरे। मुम्बई छिरिसकेपछि उनी सम्पादनमा पनि दख्खल बने। त्यसपछि निर्देशन र अभिनयको लागि प्रशिक्षकसमेत बने। ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ उनी सबै क्षेत्रमा सफल हुँदै गए। आफ्नो क्षमता देखाउँदै केही भारतीय सञ्चारमाध्यम तथा फिल्मकर्मीसँगसमेत नजिकिने मौका पाए। तर, जन्मभूमिको मायाप्रति उनी सदैव अडिग छन्। त्यसैले पनि उनी सम्भावना भएर पनि भारत नबसी नेपाल फिरे।
हालसम्म आठसयभन्दा बढी म्यूजिक भिडियोमा सम्पादन तथा निर्देशन गरिसकेका रिजाल अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनीमा आधारित नेपाली कथानक चलचित्र ‘कवी जी’को काममा व्यस्त छन्। चलचित्रमा निर्देशक रिजालसँगै कल्पना तामाङ, बिष्णु कार्की दिलजले, प्रकाश आर पाण्डेय, राज रिजाल, सञ्जिव पोखरेललगायतका कलाकारको अभिनय देख्न सकिन्छ। सामाजिक विषयवस्तुसँगै हाँस्यव्यंग्यलाई समेत चलचित्रमा सुन्दर ढंगले प्रस्तुत गरिएको उनी बताउँछन्। रिजाल आफैँले लेखन÷निर्देशनमा बन्न लागेको चलचित्रमा कृष्ण पाण्डेय सहायक निर्देशकको भूमिकामा छन्।
सम्राट फिल्मस् प्रा.लि.द्वारा निर्माण हुँदै गरेको चलचित्रलाई नीमा रिजाल, डिलाराम रिजाल र राज रिजालले निर्माण गरेका हुन् भने भरत कँडेल, इन्द्रलाल खड्गी र कमल खनाल सहायक निर्माताको रुपमा उभिएका छन्। आउँदो तीजताका प्रदर्शनमा ल्याउन तयारी भइरहेको चलचित्रलाई नेपाली तथा हिन्दी भाषामा प्रर्दशनमा ल्याउने तयारी भइरहेको उनी बताउँछन्। ‘उधुम’, ‘नशा एक लत’ र ‘रेनी’ उनले निर्देशन गरेका सफल चलचित्रहरु हुन्। ‘गंगेरानी’, ‘उधुम ब्याक अगेन’, ‘१०० इयर्स अगो’लयालतका चलचित्र क्रमशः छायाङ्कनको तयारीमा रहेको उनको भनाइ छ।