चितवन, ३१ बैशाख। चितवनस्थित जिल्ला वन पैदावर आपूर्ति समितिले सर्वसाधारणको लागि धमाधम सालको चिरान काठ वितरण गरिरहेको छ। जिल्ला वन कार्यालयमा डिपो सञ्चालन गरेर प्रतिव्यक्ति २५ क्युफिटका दरले सहुलियत दरमा चिरान काठ बिक्री वितरण गरेको हो, यो क्रम असार मसान्तसम्म चलिरहन्छ। निजी फर्निचरमा महँगो मूल्यमा काठ किन्नुपर्ने हुँदा जनताको सहजताको लागि जिल्ला वन पैदावर आपूर्ति समितिले हरेक वर्ष सालको चिरान काठ बिक्री गर्दै आइरहेको समितिका सदस्यसचिव कृष्णप्रसाद अधिकारीले बताए।
सोही कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको हालसम्ममा घरकाजको लागि ३३४ जना, भूकम्प पीडित ४७ जना र आगोलागी पीडित ११ जना गरि ३९२ जनाले काठ लगिसकेका छन् । गत चैतबाट सुरु भएको यो कार्यक्रममार्फत हालसम्ममा करिब १० हजार क्युफिट काठ बिक्री भइसकेको उनले बताए। कूल एक हजार ११२ वटा निवेदन गरेकामध्ये विकास निर्माणअन्तर्गत सामुदायिक विद्यालय, मठमन्दिर तथा सामाजिक संरचना निर्माणको लागि १० वटा संस्था, घरकाजको लागि ३३४ जना, भूकम्प पीडित ४७ जना र ३६ जना आगोलागी पीडितले काठ लगिसकेका उनले बताए।
आगोलागी र घर मर्मत बाहेकका लागि नक्सा पास गरेको सिफारिसको आधारमा प्रतिव्यक्ति बढीमा २५ क्युफिटसम्म चिरान काठ खरिद गर्न पाइने प्रावधान छ । आगोलागी पीडित र मर्मतको लागि भने त्यसको आधा अर्थात् करिब साढे १२ क्युफिट काठ खरिद गर्न पाइने प्रावधान रहेको समितिका सदस्य सचिव अधिकारले जानकारी दिए । समितिले २०७५ माघ २२ गतेदेखि फागुन ७ गतेसम्म निवेदन खुला गरेको थियो । सोही निवेदनको आधारमा जिल्ल वन पैदावर समितिले जिल्ला वन कार्यालयको डिपोबाट काठ बिक्री गरिरहेको सदस्य सचिव अधिकारीले जानकारी दिए । भूकम्प पीडितको हकमा भने चैत मसान्तसम्ममा निवेदन खुला गरेको थियो । तर, आगोलागी तथा दैवीप्रकोपमा परेकाहरुको लागि भने कार्यक्रम चलुञ्जेल निवेदन दिएर काठ लैजान सकिने व्यवस्था गरिएको छ ।
योवर्ष ५० हजार क्युफिट गोलिया काठ चिरान गरेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने लक्ष्य रहेको समितिले जनाएको छ । उक्त काठ जंगलबाट घाटगद्दीमा ल्याइसकेको र आवश्यकता अनुसार फर्निचरबाट चिरान गरि बिक्री वितरण गरिरहेको उनको भनाइ छ । काठ खरिदको लागि गएको आर्थिक वर्षमा एक हजार १८१ वटा निवेदन गरेको थियो । समितिले चालू आर्थिक वर्षको लागि घरकाज र विकास निर्माणको लागि (मुअकसहित) प्रतिक्युफिट तीन हजार ४५, दैवी प्रकोपको लागि (मुअकसहित) प्रतिक्युफिट एक हजार दुईसय ६५ रुपैयाँ ६० पैसा, बेसाइजको लागि (मुअकसहित, प्रतिकुइन्टल तीन हजार १०० रुपैयाँ र बाकलको लागि प्रतिकुइन्टल ७०० रुपैयाँका दरले सालको काठ बिक्री गरिरहेको छ । समितिले घरकाजको लागि सोमबार र बिहीबार, विकास निर्माण र दैवी प्रकोपको लागि शुक्रबार, बेसाइजको लागि मंगलबार र बाकलको लागि आइतबार काठ बिक्री वितरण गर्दै आएको समितिका सदस्य सचिव अधिकारीले जानकारी दिए ।