काठमाडौँ, ३१ बैशाख। नेपाल धितोपत्र बोर्डले हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ। बोर्डका अनुसार कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलामका बासिन्दालाई १६ लाख कित्ता साधारण शेयर बिक्री गर्नेछ। दोस्रो चरणमा ६२ लाख कित्ता साधारण शेयर आम सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट स्वीकृति पाएको हो।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ। केयर रेटिङ नेपाल लिमिटेडले गरेको वित्तीय विश्लेषणमा ग्रेड चार प्राप्त गरेको छ। कम्पनीले निर्माण गरेको ४.५५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत् आयोजना र आठ मेगावाट क्षमताको माई साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजना इलाममा अवस्थित छ। बोर्डले हालसम्म विभिन्न २५ कम्पनीलाई रु सात अर्ब २४ करोड चार लाख १६ हजार ८०० बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिइसकेको छ। -रासस