हेटौँडा, ३१ बैशाख। ३ नं. प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश गरेका छन्। उक्त प्रस्तावमाथि नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथन गरेकी थिइन्। बैठकमा कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले प्रदेशमा जलचरको संरक्षण गर्न बनेको विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए।
बैठकमा शिक्षा, कृषि र स्वास्थ्य समितिका अध्यक्ष घनश्याम दाहालले प्रादेशिक बीउबिजनको व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ १ गते अपरान्ह २ बजे बस्ने गरी स्थागित गरे। प्रदेशसभाको बुधबार बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७६/७७ का लागि विभिन्न शीर्षकको बजेटको पूर्वतयारीका लागि छलफल हुने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए। -रासस