काठमाडौँ, ०२ जेठ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बिहीबार जनवर्गीय संगठनहरुको नेतृत्व टुङ्ग्याएको छ। बिहीबार बसेको सचिवालय बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रको भागवण्डाका आधारमा अधिकांश जनवर्गीय संगठनको संयोजक र सह–संयोजक तोकेको हो।
विद्यार्थी संगठनको संयोजकमा ऐन महर र सह–संयोजकमा रञ्जित तामाङ तोकिएका छन्। महरलाई प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीकै जोडबलमा संयोजक बनाइएको बुझिएको छ। यस्तै सह–संयोजक तोकिएका रञ्जित माओवादीसम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष हुन्। यदि उनी सहसंयोजक बन्न तयार नभए सुरेन्द्र बस्नेतलाई बनाउने सहमतिसमेत भएको स्रोतको दाबी छ।
युवामा रामप्रसाद सापकोटा ‘दीपशिखा’ संयोजक र रमेश पौडेल सह–संयोजक तोकिएका छन्। दीपशिखालाई युवा संयोजक बनाउन ओली तयार भइनसकेकाले छलफल भइरहेको स्रोतको दाबी छ। महिलाको संयोजक अमृता थापा र सह–संयोजक सीता पौडेल तथा मजदुरको संयोजकमा विनोद श्रेष्ठ र सह–संयोजकमा जगत सिम्खडा तोकिएका छन्।
प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सह–संयोजकमा ईश्वरी भण्डारी तोकिएका छन्। प्रेसमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सह–संयोजक, तथा बुद्धिजिवीतर्फ दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उप–संयोजक तोकिएका छन्।
पेशागत महासंघमा भने विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सह–संयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सह–संयोजक तोकिएका छन्। यसैगरी मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सह–संयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सह–संयोजक तोकिएका छन्।यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् भने सह–संयोजक तोकिएको छैन।