रूकुम (पश्चिम), ०२ जेठ। ठूली भेरी नदीले कटान शुरु गरेपछि यहाँका करीब दुई हजार परिवार उच्च जोखिममा परेका छन्। रुकुम पश्चिम र जाजरकोटका ठूली भेरी वारिपारिका बासिन्दालाई बाढीको जोखिम छ।
रुकुम पश्चिम, जाजरकोट र डोल्पाको सिमाना त्रिवेणीदेखि रुकुम पश्चिम र जाजरकोटको सीमा रिम्नासम्म नदी आसपासका स्थानीयवासी कटानको जोखिममा छन्। आठबीसकोट नगरपालिकाका वडा नं ४, ५, ६, ११ र १३ तथा नलगाड नगरपालिकाका विभिन्न वडाका बासिन्दा उच्च जोखिममा छन्। आठबीसकोट–४ को छरिबगर, ५ को जलिगार, ६ को त्रिवेणी, मन्काबगर, दामाचौर, ज्यामिरे, ११ का चौर, गतसैना, १३ का भल्मा, रिठा र वडा नं १४ का छेपारे, पिपलचौरलगायत बढी जोखिममा रहेको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए।
यस्तै नलगाड नगरपालिकाका औलगुर्ता, खातीगुर्ता, मन्मैतरा, दल्ली, कालीमाटीलगायत ठाउँका बासिन्दा जोखिममा छन्। उनीहरु नदीको त्रासमा बस्दै आएका छन्। सडक निर्माणका त्रममा अत्यधिक मात्रामा ढुङ्गा, माटो र अन्य वस्तु नदीमा खसेपछि नदीले बहाव परिवर्तन गरेको छ। वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक बनाउँदा नदी आसपासका अधिकांश बस्ती जोखिममा परेका हुन्। अघिल्लो वर्षको बाढीले रुकुम पश्चिम र जाजरकोटमा खेतीयोग्य जमीन तथा भौतिक संरचना बगाएको थियो।
‘यसवर्ष रोकथामको उपाय नअपनाए कुनै बस्ती जोगिँदैन,’ स्थानीय मोती बोहराले भनिन्। आठबीसकोट–४ का वडाध्यक्ष डिलबहादुर सार्कीले नगरपालिकाले नदी कटान रोक्न चालू आर्थिक वर्षमा ५० लाख रूपैयाँ विनियोजन गरे पनि नपुग्ने बताए। –रासस