ललितपुर, ०२ जेठ। धापाखेलको आरके कार्पेट एण्ड ह्यान्डीक्रयाफ्ट उद्योगमा बुधबार साँझ आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको रकम बराबरको क्षति भएको छ। उद्योगमा कार्यरत कामदारले एलपी ग्यास बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।
उद्योगमा आगलागी हुँदा बुनेर भण्डारण गरिसकेको एक करोड रूपैयाँ बराबरको कार्पेट, उद्योगको तानमा लगाइरहेको करिब ५० लाख रूपैयाँ मूल्य बराबरको धागोसहित ५० लाख रूपैयाँभन्दा बढीको भौतिक संरचना जलेर नष्ट भएको उद्योगका सञ्चालक ऋषिराम घिमिरेले जानकारी दिए। ‘एक रोपनी क्षेत्रफलमा रहेको कार्पेट उद्योग पूरै जलेर नष्ट हुँदा त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएका छन्,’ उनले भने, ‘उद्योगभित्र बस्ने ११ परिवारको कति रकम र सामान जलेर नष्ट भए भन्ने अझै यकिन जानकारी हुन सकेको छैन।’
कार्पेट निर्माणमा प्रयोग हुने सिल्क र कटनको धागो अति नै महँगो हुने हुँदा धेरै क्षति भएको उनको भनाइ छ। उद्योगमा कार्यरत ३६ वर्षीया कान्छी लामा आगलागीमा घाइते हुँदा उनलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार छिउँजुले जानकारी दिए। ‘लामाको हात, गोडा र पाखुरामा चोट लागेको छ,’ डिएसपी छिउँजुले भने, ‘सामान्य आगलागीमा परेका अर्का एक व्यक्ति भने उपचारपछि घर फर्किसकेका छन्।’
आगलागी नियन्त्रणमा काठमाडौँ, ललितपुर, भक्तपुरका छ वटा दमकलका साथै खुमलटारको राजदल गणका सेनासहित महानगरीय प्रहरी वृत सातदोबाटो र महानगरीय प्रहरी वृत चापागाउँका प्रहरीले खटिएका थिए। –रासस