चितवन, ०२ जेठ। भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेण्टमा नियुक्त भएका डाक्टर विश्वबन्धु बगालेले बिहीबार पदभार ग्रहण गरेका छन्। स्वास्थ्य मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट प्राडा कृष्णप्रसाद पौडेललाई मेसुबाट हटाएर बालरोग विशेषज्ञ डाक्टर बगालेलाई जिम्मेवारी दिइएको थियो। पौडेलले ६ महिना मात्रै अस्पतालको मेसुमा काम गर्ने अवसर पाए। बाल रोग विशेषज्ञ डाक्टर बगाले २०६९ सालदेखि भरतपुर अस्पतालमा कार्यरत छन्।
२०६६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका डा बगाले २०५३ सालमा सिद्धार्थ स्कुल वनस्थलीबाट एसएलसीमा बोर्डफस्र्ट भएका थिए। मनिपाल शिक्षण अस्पताल पोखरामा एमविविएस अध्ययन गरेका बगालेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कान्ति बाल अस्पतालबाट एमडी पूरा गरेका हुन्।
बरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट १० औँ तहका डाक्टर बगालेले नयाँ जिम्मेवारीसँगै अस्पतालको सेवालाई प्रभावकारी बनाउने दावी गरेका छन्। अस्पतालमा चुनौती र अवसर दुवै रहेको भन्दै त्यसका लागि आफू सदैव तयार रहेको बताए।






