काठमाडौँ, ०३ जेठ। शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस मनाउँदैछ। मदन र जीवराजलाई आफ्नो आदर्श नेताका रूपमा मान्दै आएका छन्। नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितलाई आदर्श नेताको रूपमा मानिन्छन्। २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी दुवैजनाको मृत्यु भएको थियो।
सोही दिनको सम्झनामा नेकपाले स्मृति दिवस मनाउन लागेको हो। मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन्। तर, २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य भने अहिलेसम्म पनि सतहमा आउन सकेको छैन। दुर्घटनाका साक्षी जीप चालक अमर लामाको हत्यापछि यो घटना थप रहस्मय बन्न पुगेको छ।
हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री बादल

रामबहादुर थापा ‘बादल : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने जननेता भण्डारी र आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको दाबी गरेका छन्। २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताएका हुन्। ‘मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ।’