चितवन, ०३ जेठ। पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको ढाँटमा सर्वसाधारणले आगजनी गरेका छन्। सडक बोर्डको कर उठाउँदै आएको ढाँटमा सर्वसाधारणले शुक्रबार आगजनी गरेका हुन्। आगो नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक कल्पना पौडेल घाइते भएकी छन्। उनको हात, खुट्टा र अनुहारमा चोट लागेको छ। अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपेन्द्र शाहका अनुसार बिहान करिब ११ बजेको समयमा सर्वसाधारणले पेट्रोल छर्केर ढाँटमा आगो लगाएका हुन्। आगलागीबाट ढाँटमा रकम संकलन गर्ने काउन्टरसमेत पूर्णरूपमा जलेको छ। रत्ननगर उद्योग वाणिज्य संघले केही दिनअघि मात्रै टिकौलीबाट ढाँट हटाउन जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। घटनाको विषयमा जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित पक्षबीच छलफल भइरहेको छ।