चितवन, ०३ जेठ। संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा शुक्रबार देशभरका पत्रकारहरूले प्रदर्शन गरेका छन्। पत्रकार महासंघ केन्द्रीय समितिको निर्देशन अनुसार देशभरका सबै जिल्ला शाखाहरूमा शुक्रबार रिपोर्टिङका क्रममा प्रयोग हुने सामाग्री राखेर पत्रकार महासंघको कार्यालय अगाडि बसेर प्रदर्शन गरेका हुन्। मिडिया काउन्सिलसम्बन्धि विधेयकमा स्वतन्त्र पत्रकारितामाथि प्रतिबन्ध लगाउने खालका बुँदाहरूसमेत समावेश गरिएकोले त्यसको विरोधमा देशभरका जिल्ला शाखाहरूमा प्रदर्शन भएको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले जानकारी दिए।
यही क्रममा शुक्रबार चितवन र नवलपुरका पत्रकारहरूले पनि केन्द्रीय समितिको निर्देशन अनुसार महासंघको कार्यालय अगाडि बसेर प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले केन्द्रीय समितिको निर्णयअनुसार पहिलो चरणको गरिएको हो। सरकारले मिडिया काउन्सिल विधेयकको अस्पष्ट बुँदाहरू नहटाएमा पत्रकारहरूको आन्दोलन नरोकिने बताए।
यस्तै पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष श्रीराम सिग्देलले प्रेस स्वतन्त्रतालाई संकुचित बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा नवलपुरका पत्रकारहरूले समेत साथ दिएका बताए। विधेयकको प्रावधानप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ केन्द्रीीय कार्यालयले आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै नवलपुर जिल्ला शाखाले पनि आन्दोलनलाई निरन्तरता दिएको उनको भनाइ छ।