हेलामान्ड, ०३ जेठ। अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ। आफ्नै सहकर्मीले गरेको कारबाही परि सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ।
प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार राति अज्ञात सङ्ख्यामा आएका सशस्त्र तालिवान लडाकू समूहले बन्दुक, रकेट आक्रमण गरेको स्थानीय स्रोतले जनाएको छ। आत्रमणकारी गरेको आक्रमणमा प्रहरी सहयोगको लागि राजमार्गका प्रहरी कमाण्डर हाजी हबिबको नेतृत्वमा सो इलाकामा पुगेका प्रहरीको समूह हवाई कारबाहीका परेका थिए।
यस कारबाहीमा हबिबको समेत मृत्यु भएको बताइएको छ। अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको हवाई कारबाहीको क्रममा सो घटना भएको बताइएको छ। यस विषयमा कुनै औपचारिक विज्ञप्ति प्राप्त नभएको र विस्तृत विवरण पनि हाल प्राप्त भएको छैन। यसअघि पनि गत फेब्रुअरी २६ मा घाज्नी प्राप्तमा भएको हवाई आक्रमणमा सरकार समर्थक आठ नागरिक सेनाका सदस्य मारिनुको साथै अन्य चार घाइते भएको थिए।
हेलमान्ड तालिवान लडाकू समूहको बलियो पकड रहेको प्रान्तको रुपमा रहेको छ। हालका दिनमा अफगानिस्तानका तालिवान लडाकू र अन्य आतङ्ककारी समूहका आक्रमणमा परि सुरक्षा अधिकारीहरुको हताहत बढेको छ। -सिन्हवा