चितवन, ०३ जेठ। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका चारमध्ये तीन वटा पुल तोकिएको समयअघि नै निर्माण सम्पन्न हुने भएका छन्। एउटा पुल भने निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दासढुङ्गा, खानीखोला र मौरीखोलाको पुलको निर्माण कार्य ८१ प्रतिशत सम्पन्न भइसकेको छ। दासढुङ्गाको १५ मिटर, खानीखोलाको २५ मिटर र मौरीखोलाको पुल १५ मिटर लामो छ। तीनवटै पुलको ढलान कार्य सम्पन्न भइसकेको उनले बताए।
ती पुलबाट सडक जोड्ने ठाउँमा कालोपत्रे, रेलिङ र रङ्गरोगनका काम मात्र बाँकी रहेको उनले बताए। खनालले अगष्टसम्ममा सक्नुपर्ने सो पुल जुलाईमा नै सकिने गरि काम भइरहेको जानकारी दिए। लामा कन्ट्रक्सनले १३ करोड ६६ लाख रूपैयाँमा बोलपत्र सकार गरि काम गरेको हो। वि.सं. २०७४ को कात्तिकबाट पुल निर्माणको काम सुरू गरिएको हो।
सँगै ठेक्का लागेको जलवीरे खोलाको ८० मिटर लामो पुल भने ४८ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ। पुलको दुई तर्फको पिल्लर भने उठाइसकिएको छ।
दासढुङ्गा, खानीखोला र मौरीखोलाको पुलको निर्माण कार्य ८१ प्रतिशत सम्पन्न भइसकेको छ। दासढुङ्गाको १५ मिटर, खानीखोलाको २५ मिटर र मौरीखोलाको पुल १५ मिटर लामो छ। तीनवटै पुलको ढलान कार्य सम्पन्न भइसकेका छन्।
‘वर्षातको समयमा काम गर्न कठिन हुने भएकाले ‘सेन्टिङ’ गरेर ढलान गर्ने काम वर्षातपछि हुन सक्ने देखिएको छ,’ उनले भने। उक्त पुल भने रौताहा कन्ट्रक्सनले १४ करोड रूपैयाँ लागतमा आउँदो डिसेम्बरसम्ममा सक्ने गरि ठेक्का लिएको हो।
सडक विस्तारसँगै पुल साँघुरा भएपछि उक्त सडकखण्डमा रहेका १८ मध्ये चारवटा पुल निर्माणको लागि ठेक्का दिएको थियो। ती पुल ११ मिटर चौडाइका रहेका छन्। अन्य पुल पनि ठेक्का दिने प्रक्रियामा रहेको सूचना अधिकारी खनालले जानकारी दिए। –रासस