चितवन, ०३ जेठ। नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प आएपछि भूकम्प प्रतिरोधी संरचना निर्माणले तीव्र रूप लिएको छ। सरकारले नै भूकम्प प्रतिरोधी संरचना निर्माणलाई अनिवार्य गरेपछि निर्माण सामाग्री कम्पनीहरूले पनि नयाँनयाँ विकल्प खोज्दै निर्माण सामाग्री उत्पादन गर्दै आएका छन्। भूकम्प प्रतिरोधीसँगै वातावरणमैत्री सामाग्रीको उत्पादनले बजार लिइरहेको छ। पछिल्लो समय अटोक्लेभ्ड एरिएटेड कंक्रिट (एएसी) इँट्टा उद्योगले नयाँ उत्पादन थालेको छ।
एएसी इँट्टा पूर्ण भूकम्प प्रतिरोधी र वातावरणमैत्री भएको कम्पनीको दावी छ। कम्पनीले शुक्रबार साँझ भरतपुरमा विभिन्न क्षेत्रका निर्माण व्यवसायीको उपस्थितिमा आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ। रातो इँट्टाको विकल्पको रूपमा एएसी इँट्टा प्रयोग गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख महेन्द्र गुरूङले बताए। ‘घामपानी र आगोले केही हुँदैन,’ उनले भने, ‘रातो इँट्टाको तुलनामा धेरै गुणा फाइदाजनक छ।’

निर्माणमा लागत खर्च कम लाग्नु, सुख्खा घनत्व भएकोले वजनमा हलुका, भूकम्प प्रतिरोधक, पूर्ण वातावरणमैत्री, अग्नि प्रतिरोधक, ध्वनी प्रतिरोधक, काममा सरलता तथा टिकाउ, उर्जा बचतलगायतका विशेषता रहेको उनले बताए। ‘बालुवा, सिमेन्ट, चुना, लाइम, आल्मुनियम पाउडर र जिप्सनसँग पानीको मिश्रण गरि एरिएटेड प्रविधिबाट पूर्णस्वचालित अटोक्लेभ्ड मेशिनबाट निर्माण हुने भएकोले धेरै जलवायु विविधतामा पनि यो इँट्टा उपयुक्त छ,’ उनले भने।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले स्वदेशी उत्पादन थपिनु समग्र देशकै गौरवको विषय भएको बताए। ‘स्वदेशी युवाशक्तिबाटै नयाँ उत्पादनको सुरूवात हुनु भनेको समग्रमा देशको बढ्दो व्यापार घाटालाई कम गराउनमा सहयोग पु¥याउनु हो,’ उनले भने।
नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष निरञ्जन न्यौपानेले भने पछिल्लो समय भूकम्पकै कारण नेपालमा भूकम्प प्रतिरोधी उत्पादनको आवश्यकता महसुस भएको बताए। ‘आफ्नो जिउधनको सुरक्षाको लागि पनि मानिसहरूले विकल्प खोज्न थाले,’ उनले भने, ‘जसले गर्दा आज नेपालमै एएसी इँट्टाको उत्पादन सुरू भयो।
निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले एएसी इँट्टाको उत्पादनले निर्माण व्यवसायको क्षेत्रमा थप सहयोग पुग्ने बताए। ‘युवा उद्यमीको प्रयासले स्वदेशमै फरक खालको वस्तु उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘यसले सेवाग्राहीलाई सबैभन्दा बढी फाइदा पुग्नेछ।’