भक्तपुर, ०३ जेठ। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई देशले बिर्सन नहुने बताएकी छिन्। ‘मुलुकमा शान्ति स्थापनार्थ उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसैले उहाँलाई देशले बिर्सन हुँदैन।’
जिपी कोइराला फाउण्डेसनले शुक्रबार भक्तपुरमा आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको तस्बिर प्रदर्शनी एवं विचार गोष्ठीमा बोल्दै देशमा शान्ति स्थापनादेखि राजतन्त्र अन्त्य र संविधान निर्माणमा समेत सबै दललाई एकतावद्ध बनाई अगाडि बढेकाले कोइरालाको योगदानलाई कसैले भुल्न नहुने बताएकी हुन्।
सशस्त्र युद्धमा होमिएको तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन, राजतन्त्र विरूद्धको आन्दोलनमा सबै दलको मोर्चाबन्दी बनाई आन्दोलन गर्न र संविधान निर्माणमा समेत कोइरालाको अतुलनीय भूमिका रहेको नेत्री कोइरालाको भनाइ थियो।
कांग्र्रेसका केन्द्रीय नेता गुरूराज घिमिरे, कमला पन्त, रीता खनाल, पूर्व सांसद लेखनाथ न्यौपाने, कांग्र्रेस भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापा, जिपी फाउण्डेसनका जिल्ला अध्यक्ष विदुरमानसिंह बस्नेतलगायतले गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताका लागि खेलेको भूमिकाको चर्चा गरे। – रासस