काठमाडौँ, ०३ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन सुदृढिकरणको लागि पार्टीभित्र आन्तरिक तयारी थालेको छ। शुक्रबार पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीलाई गति दिनको लागि पार्टी सुदृढिकरण आवश्यक भएको निष्कर्ष निकाल्दै तयारी थालेको जनाएको छ। साथै सक्रिय सदस्यता वितरण कार्यक्रमलाई समेत अझ प्रभावकारी ढंगले अगाडी बढाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिइएको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए।
वर्तमान सरकारसँग जारी वार्तालाई समेत सकारात्मक रुपमा लिँदै यथाशीघ्र छिटो दोस्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको उनले बताए। बैठकमा जनसंघर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदन माथि विस्तृत छलफल भएको थियो। उक्त बैठकमा प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावी कार्ययोजना प्रस्तुत गरेका थिए।