काठमाडौँ, ०४ जेठ। किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान चाडका रुपमा शनिबार उभौली पर्व मनाएका छन्। किराती परम्पराअनुसार भूमिको पूजा गरेर पर्व मनाइएको हो। प्रकृतिका पूजक किरातले मनाउँदै आएको यस चाड कहिलेबाट मनाउन सुुरु गरियो भन्ने सम्बन्धमा कुनै तथ्य प्रमाण भने फेला परेको छैन।
ठाउँ र परम्पराअनुसार विभिन्न मिथक सुनिन्छन्। पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिँदै आएको छ। उभौलीलाई किरातभित्रका विभिन्न समुदायले ठाउँ र आआफ्नो भाषाअनुसार फरक नामले पुकार्ने गर्दछन्। चाम्लिङले साकेला, बान्तावाले साकेवा वा साकेन्वा, सुनुवारले फोलष्यादर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गरेको किरातको सांस्कृतिक अनुसन्धानमा लागेका कीर्तिकुमार दुमी राई बताउँछन्।
यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक धुमधामका साथ मनाउने चलन छ। बैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मङ्सिर शुक्ल पूर्णिमा अर्थात् शरद् ऋतुमा उधौली पर्वका रुपमा मनाइन्छ । ‘दुमी भाषामा उभौली पर्वलाई ‘धिरियाम्लो’ र उधौली पर्वलाई ‘छिरीयाम्लो’ भन्ने गरिन्छ, हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र अन्नबाली पाक्ने बेला खुसियाली मनाउँदै उधौली पर्व मनाइन्छ,’ राईले भने।
अन्नबाली लगाउने समयमा लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याङ्ग्रा तथा जङ्गली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य होस्, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ। तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुङ्गी, कीराफट्याङ्ग्रासमेत चिसो लेकतिर बसाईं सर्छ भन्ने विश्वासले बैशाख पूर्णिमामा मनाइने यो पर्वलाई उभौली भन्ने गरिएको हो।
त्यसैगरी किरात उधौली पर्वमा उभौली पर्वको समयमा लगाएको अन्नबाली पाक्ने, अन्नबाली खेतबारीमा लहलह देखिने, अन्नबालीले भकारी भरिएको हुने हुँदा अन्नबालीको सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन्। यस समयमा लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउँ मधेश, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मङ्सिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिन्छ।
राई, लिम्बू, याक्खा र सुनुवार लगायतका किरात जातिको यो पर्वको पहिलो दिनमा घरघरमा लिपपोत शुद्ध बनाइन्छ। आफ्ना पिता पुर्खाले मानेको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा गर्छन्। गाउँ, समाज, टोलमा पहिलेदेखि नै स्थापना गरी राखिएको साकेला थान, भूमेथान र त्यो नभएको ठाउँमा कटुसको हाँगा गाडी थान स्थापना गरेर भूमि र नागनगेनीको पूजाआजा गरिन्छ।
पूजा आराधना गर्ने पुजारी नागिरे धाँमी र यस्ता व्यक्ति नभएमा विधिसम्बन्धी ज्ञान भएकाले पूजा गर्छन्। पूजाका लागि कुखुरा, सुुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडालगायत सामग्री आवश्यक पर्दछ। पूजा सम्पन्न भएपछि सो थानकै वरिपरि सामूहिकरुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, अर्ना भैँसीको सिङ आदि बजाएर नाच्ने गरिन्छ। पहिलो दिन पूजा स्थलमा नाचिए पनि त्यसपछिका दिनमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गरी १५ दिनसम्म उभौली मनाइन्छ।
यसरी नाच्ने क्रममा हातखुट्टाको चाल र हाउभाउका माध्यमबाट ढोल, झ्याम्टाको तालमा जीव, जनावर, चराचुरुङ्गीको नक्कल, खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको तथा उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ। यसका साथै कपासबाट धागो कातेको, कपडा बुनेको, सिङ्गारपटार गरेको जस्ता कार्यलाई पनि अभिनयका माध्यमबाट नाचमा देखाइन्छ। यसलाई ‘सिली टिप्ने’ भनिन्छ। -रासस