चितवन, ०४ जेठ। शनिबार बौद्ध धर्मावलम्बीहरुले २५६३औँ बुद्ध जयन्ती मनाएका छन्। विश्वभर रहेका बौद्धमार्गीहरुले एकसाथ भगवान गौतम बुद्धको पूजाआराधना गरेर बुद्ध जयन्ती मनाएका हुन्। शनिबार कपिलवस्तुको लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन्।

यस्तै अन्य जिल्लाहरुमा समेत बौद्धमार्गीहरुको बस्ती रहेका ठाउँहरुमा धुमधामका साथ बुद्ध जयन्ती मनाएका छन। बौद्ध गुम्बा तथा बिहारहरुमा भेला भई एकापसमा भाइचाराको सम्बन्ध कायम राख्दै शुभकामना आदानप्रदान गरेर खुसीयलाी मनाएका छन्।

चितवनमा पनि बौद्ध धर्म सेवा समिति चितवनले शनिबार धुमधामका साथ बुद्ध जयन्ती मनाएको छ। महाबौद्ध गुम्बा तीनखोलेमा विशेष कार्यक्रम आयोजना गरेर बुद्ध जयन्ती मनाएको हो। समितिका अध्यक्ष इमानबहादुर गुरूङको संयोजकत्वमा शनिबार बिहानैदेखि गुम्बामा भेला भएर चितवनका गुरूङ समुदायले हर्सोल्लासका साथ यो पर्व मनाएका हुन्।

बिहानैदेखि पूजापाठसँगै सांस्कृतिक कार्यक्रम गरेर जयन्ती मनाइएको अध्यक्ष एवम् बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक गुरूङले जानकारी दिए। गुम्बामा औपचारिक कार्यक्रम हुनुपूर्व बिहान बृहत् शान्ति पदयात्रासमेत आयोजना गरिएको थियो। गुम्बा परिसरबाट बिशालचोक, रमाइलो चोक, वीरेन्द्र क्याम्पस गेट, सहिदचोक, लिलाचोक, रामेश्वर मन्दिर हुँदै पुनः गुम्बामा आएर टुङ्गिएको थियो।

धर्मगुरु खेन्पो वागेन्द्रशील तिमिल्सिनाबाट धर्म देशना (प्रवचन) भएको थियो। तिमिल्सिना बौद्ध धर्मको पवित्र ग्रन्थ ‘दोमाङ्ग’ लाई तिब्बती भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने पहिलो धर्म गुरु हुन्। बुद्ध जयन्तीकै अवसरमा जयबुद्ध अस्पताल प्रालिद्वारा निःशुल्क स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रमसमेत आयोजना भएको थियो।

उक्त कार्यक्रममा १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने १५ जनाले रक्तदान गरेका समितिका कोषाध्यक्ष विमला गुरूङले जानकारी दिइन्। बौद्ध धर्म सेवा समितिको हरेक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आशमाया गुरूङलाई उत्कृष्ट महिला र वीरबहादुर गुरूङलाई उत्कृष्ट पुरुषको रुपमा सम्मान गरेको छ। बुद्ध जयन्तीको शान्ति पदयात्रामा सहभागी भएका र विभिन्न उपसमितिहरुलाई समेत सम्मान गरेको थियो।
तस्बिर सौजन्य : नेत्र गुरुङ










