बर्दिया, ०५ जेठ। प्रदेश ५ मा पछिल्लो नौ महिनामा मात्रै ४ सय ९६ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीमा दुर्घटना भएको देखिएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा साना तथा ठूला सवारी दुर्घटनामा परि उनीहरुको ज्यान गएको हो। प्रहरीका अनुसार, चालू आर्थिक वर्षको ९ महिनामा रुपन्देशीमा मात्रै १ सय ३ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन्। १ सय ५९ जना गम्भीर घाइते भएका छन्। घाइतेमध्ये केही घर फर्के पनि कतिपय अझै उपचाररत रहेको प्रहरीले जनाएको छ।
प्रदेश ५ का बढी दुर्घटना हुने जिल्लाको दोस्रो नम्बरमा दाङ छ। दाङका विभिन्न स्थानमा पछिल्लो नौ महिनामा भएको दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयमा तथ्यांक छ। १ सय ९४ जना गम्भीर घाइते छन्। पश्चिम नवलपरासी पनि दुर्घटनाको अग्रपंक्तिमा रहेको तथ्यांकले देखाएको छ। उक्त जिल्लामा मात्रै ५७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन। बर्दियामा २८, गुल्मीमा १५ को ज्यान गएको छ भने रोल्पामा १४ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, रोल्पाका विभिन्न स्थानमा भएको दुर्घटनाको क्रममा २० जना गम्भीर घाइते भएका छन्। प्यूठानमा पनि पछिल्ला महिनामा दुर्घटना हुँदा १३ को मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वी रुकुममा १२ जनाको मृत्यु भएको छ। अर्घाखाँची भने पछिल्लो समय सवारी दुर्घटनाबाट सबैभन्दा कम मानवीय क्षति भएको जिल्लामा पर्दछ। प्रहरीका अनुसार, पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा अर्घाखाँचीमा जम्मा ९ जनाको मृत्यु भएको छ। ३२ जना घाइते छन्। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक एंव सूचना अधिकारी माधवप्रसाद बुढाथोकीका अनुसार यो तथ्यांक अन्य जिल्लाको तुलनामा कम हो। क्षमताभन्दा बढी यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, तीव्र गति र चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारण भएको उनको भनाइ छ।