१२ अर्ब १५ करोडको हेलमेटको ब्यापार बढ्ने
काठमाडौं, ०६ जेठ। मोटरसाइकलमा पछाडि बस्ने यात्रुले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने कानुन बन्न लागेको भन्दै ट्राफिक प्रहरी प्रमुख वसन्तराज पन्तले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराए। यातायात व्यवस्था ऐनमा संशोधन गरेर मोटरसाइकलको पछाडि बस्ने यात्रुका लागि पनि हेलमेट अनिवार्य गर्न लागिएको उनले बताए।
यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ प्रमाणित हुनुपर्ने गरि महाशाखाले ऐनमा सुझाव पठाएको छ। ऐन संशोधनका लागि प्रयास भइरहे पनि ऐन बनिसकेको छैन। तर, ट्राफिक प्रहरीले प्रस्ताव गरेको अनिवार्य हेल्मेटसम्बन्धी व्यवस्था कत्तिको व्यवहारिक छ भन्ने बहसले पनि यतिबेला सामाजिक सञ्जाल तातेको छ।
देशभर कति छन् दुईपांग्रे सवारी?
यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४÷०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुईपांग्रे सवारी साधन दर्ता भएका छन्। चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा कति मोटरसाइकल भित्रिए भन्ने तथ्याङ्क विभागले सार्वजनिक गरेको छैन। तर, अघिल्लो तीन वर्षको औषत तथ्याङ्क हेर्ने हो भने यो वर्ष पनि दुईलाख हाराहारी स्कुटर तथा मोटरसाइकल प्रयोगमा आएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
दैनिक ६ सयको संख्यामा मोटरसाइकल थपिने नाडा अटोमोवाइल एसोसिएसन बताउँछ। नेपालको सडकमा सबैभन्दा बढी चाप मोटरसाइकलकै छ। नेपाली बजारमा वार्षिक चारलाख हेलमेट बिक्री हुने अनुमान गरिन्छ। विभागको विवरणअनुसार सबैभन्दा धेरै दुईपांग्रे सवारी प्रदेश ३ मा दर्ता भएका छन्। ऐन संशोधन भएर पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य भयो भने करिब २७ लाख मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताले एक थान हेल्मेट फेरि किन्नुपर्नेछ।
आइएसओ मापदण्डको हेलमेट
महाशाखाले विभागलाई पठाएको संशोधनमा यात्रुले प्रयोग गर्ने हेलमेट आइएसओ मापदण्डको हुन पर्ने उल्लेख छ। हेलमेट व्यावसायीका अनुसार उक्त प्रकारको हेलमेटको बजार मूल्य न्यूनतम् ३५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म पर्छ। यदि २७ लाख दुई पांग्रे सवारी धनीले औषत ४५ सयको हेलमेट किने भने ट्राफिक प्रहरीले प्रस्ताव गरेको यो नियमबाटै झण्डै १२ अर्ब १५ करोडको हेलमेटको ब्यापार बढ्ने छ।
किन हेल्मेट अनिवार्य गरियो ?
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्र ११ हजार १०१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन्। उक्त दुर्घटनामा ३ हजार १ सय ८६ जना घाइते भएका छन् भने १५७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अधिकांशको मृत्यु टाउकोमा लाग्ने चोटका कारण हुने गरेको महाशाखा प्रमुख एसएसपी बसन्त पन्त बताउँछन्। पन्तका अनुसार हेल्मेटकै कारण नागरिकको मृत्युदर घटाउन यस्तो व्यवस्था सिफरिस गर्नु परेको हो।
ट्राफिक प्रहरीको प्रस्ताव व्यवहारिक ?
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालका स्वास्थ्यमन्त्री डा.उपेन्द्र देवकोटाले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए। तर, त्यसले निरन्तरता पाउन सकेन। पूर्वडीआइजी केशव अधिकारी ट्राफिक प्रहरीको यो प्रस्तावलाई व्यापारिक वर्गको स्वार्थबाट प्रेरित भएको बताउँछन्।
कुनै अध्ययन बिनै चर्चाका लागि यस्तो कुरा गरिएको उनको तर्क छ। १७ वर्ष अगाडि ल्याइएको दुवैजनाले हेल्मेट लगाउने नियम कालान्तरमा स्वार्थ प्रेरित भएको प्रमाणित भएपछि तुहिएको थियो। सडकको डिजाइन, चालकको जनचेतनाको स्तरलगायतका कारण नेपालमा फलामै फलामको हेल्मेट लगाए पनि दुर्घटनाले हुने मृत्युदर नघट्ने अधिकारीको बुझाई छ।
सडक सुरक्षा विज्ञ पदमबहादुर शाही ट्राफिक प्रहरीको सुझाव मननयोग्य रहेको बताउँछन्। शाहीका अनुसार हाल क्रियाशील ऐनमा पनि यो विषय उल्लेखित छ। तर, विविध कारण प्रहरीले कार्यन्वयन गर्न सकेको छैन। हरेक निर्णय आर्थिक विषयसँग जोडिने भन्दै शाही सुरक्षाको विषय पैसासँग दांज्न नमिल्ने बताउँछन्।
एसएसपी पन्त भने हेलमेटको प्रयोगसम्बन्धित प्रस्ताव गरिएको कानुनमा व्यापारिक स्वार्थ नरहेको दावी गर्छन्। ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३० को उपदफामा २ मा दुईपांग्रे सवारीमा बस्ने यात्रुका लागि पनि हेल्पेट लगाउनुपर्ने उल्लेख छ। उक्त दफामा मोटर साइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप लगाउने हेल्मेट लगाउनुपर्छ भनिएको छ,’ उनले भने।
गुणस्तरहीन हेल्मेट प्रयोग अत्यधिक पाइएको भन्दै पन्तले कुनै पनि स्वार्थ समूहबाट प्रेरित नभई आफूहरुले जनताको जीउधनको सुरक्षाका लागि यस्तो प्रस्ताव गरेको बताए।