बाँके, ०७ जेठ। बाँकेको जमुनहाबाट प्रतिबन्धित लागुऔषध सहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध सम्बन्धी विज्ञ कुकुरको सहयोगमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले नेपाल–भारत नाका जमुनहाबाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार भारतबाट नेपालगञ्ज आउँदै गरेका उनीहरूलाई कुकुरले सुँघेर पहिचान गरेको थियो। लागुऔषध विज्ञ गौरी नाम गरेको पोथी कुकुरको सहायतामा १० ग्राम ब्राउनसुगरसहित शर्मरानी गाउँपालिका–५ प्यूठानका अदिल मियाँलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक थापाले बताए।
यस्तै सीमावर्ती क्षेत्रमा पर्ने भारतीय बजार रुपैडिहाबाट आउँदै गरेकी घोराही उप–महानगरपालिका–३ की लक्ष्मी खड्का र नेपालगञ्ज उप–महानगरपालिका–१० आदर्शनगरकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर बरामद गरिएको छ। नेपालगञ्ज–१८ भुजइगाउँका किशोरकुमार धोवीलाई पनि चार ट्याब्लेट नाइट्रोजन, १० क्याप्सुल स्पास्मो र एक बोत्तल अल्टोरेक्ससहित जमुनाहा नाकाबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले कोहलपुर नगरपालिका–९ का राजेन्द्र हरिजनलाई ३९ ट्याब्लेट नाइट्रो भ्याटसहित पक्राउ गरेको छ। प्लाष्टिकको झोलामा रहेको चनाभित्र लुकाएर रुपैडिहाबाट नाकाबाट नेपालतर्फ ल्याउने क्रममा उनी प्रहरी फन्दामा परेका हुन्।
प्रहरी निरीक्षक थापाका अनुसार, रुपैडिहाबाट आउँदै गरेका थप दुई बालकका साथबाट पनि चार ट्याब्लेट नाइट्रोजन पनि बरामद भएको छ। ती दुवै बालकलाई अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए। सीमामा लागुऔषधको कारोबार बढिरहेका बेला प्रहरीले लागुऔषधसम्बन्धी विज्ञ कुकुर नै परिचालन गरेर नियन्त्रण सुरू गरेको हो।