काठमाडौँ, ०७ जेठ। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ। पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) औपचारिकरूपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि पार्टीभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो।
गृहमन्त्री बादलले आफूलाई पार्टीभित्र दह्रो साथ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एकीकृत पार्टीको संगठन विभाग प्रमुख बनाउने तयारी गरेका छन्। यसै साता जनवर्गीय संगठनहरूको एकता टुंग्याएको नेकपाले आज (मंगलबार) संगठन विभागलगायत विभिन्न विभागहरूको टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ।