विराटनगर, ०७ जेठ। तराई–मधेस विषेश पूर्वाधार कार्यक्रमअन्तर्गत सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्ने गरि चालू आर्थिक वर्षमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु गरिएको हो।
अघिल्लो आर्थिक वर्षमा ९ वटा सडक सम्झौता भई काम भइरहेको छ। यसै वर्ष थप गरिएका ३८ वटा सडक योजना भने यही वर्षचित्र सम्पन्न गर्नुपर्नेछ। दुवै जिल्लाको दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय राजमार्गको पहुँचमा जोड्न चालू आर्थिक वर्षमा नयाँ आयोजना थपिएको डिभिजन कार्यालयका डिभिजन प्रमुख सुमनराज न्यौपानेले जानकारी दिए ।
सुनसरी र मोरङ जिल्लाका दक्षिणी सिमावर्ती इलाकाबाट पूर्व–पश्चिम राजमार्गलाई जोड्ने गरी यी सडक निर्माण गरिनेछन्। चालू आर्थिक वर्षमा नयाँ कार्यक्रमअन्तर्गत दुई जिल्लाका दक्षिणी इलाकालाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ आयोजना थपिएका उनको भनाइ छ। थप भएका सडक आयोजनाअन्तर्गत कालोपत्रे, नाला, ढल तथा कल्भर्ट निर्माण छन्।
चालू आर्थिक वर्षमा सबै आयोजनाका लागि एक–एक करोड रुपैयाँ विनियोजन भएको कार्यालयले जनाएको छ। जसबाट कम्तीमा पनि यो वर्ष ५ देखि ७ किलोमिटर सडक कालोपत्रे गरिने छ। निर्माणाधीन र निर्माणको चरण सुरु भएका सडकले भारतको सीमासम्मका नेपाली बस्तीलाई मुख्य राजमार्गसँग जोड्ने छन्। बहुवर्षीय योजनाअन्तर्गत विस्तार गरिने सडकलाई ९ मिटर चौडाइको बनाइने छ।