बागलुङ, ०८ जेठ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली कांग्रेस वैचारिकरुपमा विचलित नभएको बताएका छन्। कांग्रेसमा गुट उपगुट भए पनि वैचारिकरुपमा स्पष्ट भएको उनको भनाइ छ। पार्टीले देशभर सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘हिजोका दिनमा कांग्रेसले गरेका गल्ती अब नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछु।’
चितवनको भरपुरमा माओवादीलाई भोट हाल्नु काङ्ग्रेसको ठूलो गल्ती भएको उनको भनाइ थियो। ‘ कांग्रेस नीति र विचारमा स्पष्ट छ,’ उनले भने, ‘अबका दिनमा कांग्रेसको लोकप्रियता बढ्दै जानेछ।’ नेता थापाले अहिलेको सरकारले युवा लक्षित कार्यक्रम ल्याउन नसक्दा विदेश पलायन हुनेको संख्या बढ्दै गएको आरोप लगाए। –रासस