चितवन, ०९ जेठ। प्रायःजसो नेपाली तथा हिन्दी चलचित्रले मात्रै स्थान पाउँदै आएको मल्टिप्लेक्स हलमा बिहीबार भने गुरूङ चलचित्रले पनि स्थान पायो। जिल्लाकै सबैभन्दा सुविधा सम्पन्न चलचित्र हलको रूपमा चिनिएको क्युएफएक्स जलमा सिनेमा हलमा बिहीबार अत्यधिक दर्शकको भीडका साथ गुरूङ भाषाको चलचित्र ‘सवन मु’को विषेश प्रदर्शन गरिएको छ। पोखरा र दमौलीको सफल प्रदर्शनपछि चितवनमा प्रदर्शन गरिएको हो।
चलचित्रले गुरूङ समुदायको ऐतिहासिक पृष्ठभूमि समेटिएकोले सबै वर्गको लागि योग्य बनेको निर्माण पक्षको दाबी छ। २०३६ सालको पञ्चायती व्यवस्थाबाट गुरूङ समुदायमा पारेको प्रभावलाई देखाइएको छ । साथै बहुदलको स्थापना गर्न गुरूङ समुदायले खेलेको भूमिकालाई पनि चलचित्रमा देखाइएको छ। जसले गर्दा पनि दर्शकको भीड सोचेभन्दा बढी पाएको चलचित्रका लेखक तथा निर्देशक कृष्णकुमार गुरूङ बताउँछन्।

चितवनमा प्रदर्शन गर्नको लागि तमू प्ये ल्हू संघ चितवनले संयोजन गरेको हो। सबै उमेर समूहको लागि हेर्न लायक चलचित्र निर्माण भएकोले तमू प्ये ल्हू संघ चितवनले प्रदर्शनको जिम्मा लिइएको सचिव बिक्रम गुरूङले बताए। चितवनमा देशभरका विभिन्न जिल्लाबाट आएर बसोबास गरेको हुँदा आफ्नो समुदायको भाषा, संस्कृति तथा भेषभूषाबारे जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ। धेरैजसो नयाँ कलाकारको प्रस्तुति रहे पनि अभिनयमा कमजोरी नरहेको उनले बताए।
पूर्ण गुरूङ, विश्वात्मा गुरूङ, नीशा गुरूङ, तारा गुरूङ, आमिर गुरूङ, गल गुरूङ, डिबी गुरूङ, विष्णु गुरूङ, रामबहादुर गुरूङ, दीपा गुरूङ, राजेन्द्र गुरूङ, विमल जिसी, कमल भुजेल, सविना थापालगायतका कलाकारहरूको अभिनय रहेको चलचित्रलाई प्रकाश गुरूङ ‘काश’ले खिचेका हुन्। नेत्र गुरूङको सम्पादनमा तयार भएको चलचित्रलाई रामबहादुर गुरूङ, दीपा गुरूङ (हङकङ) र प्रेमबहादुर गुरूङ ‘पूर्ण’ले निर्माण गरेका हुन्।

भकारी इभेन्ट्स पोखराको ब्यानरमा निर्माण भएको चलचित्र ‘सवन मु’ यही जेठ ११ गते शनिबार नारायणगढकै नारायणी कला मन्दिरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको तमू प्ये ल्हू संघ चितवनले जनाएको छ। यसपछि फेरि पोखरा तथा लम्जुङसहित विश्वका विभिन्न मुलुकमा प्रदर्शन गर्ने तयारी भइरहेको लेखक तथा निर्देशक कृष्णकुमार गुरूङले बताए।