इस्लामावाद, ०९ जेठ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका आफ्ना समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्। लोकसभा निर्वाचनमा उनको पार्टीले अत्याधिक बहुमत ल्याएकोमा बधाई दिदै खानले दक्षिण एसियाको शान्ति, समृद्धि र प्रगतिका लागि सहकार्य गर्ने प्रतिक्षामा रहेको उल्लेख गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले बिहीबार नै आफ्नो पार्टी विजयी भएको दाबी गरिसकेका छन् भने विपक्षी पार्टी कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि आफ्नो पार्टी पराजित भएको स्वीकार गर्दै मोदीलाई बधाई दिएका छन्। पाकिस्तानी प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्, ‘भाजपा र त्यसको गठबन्धन विजयी भएकोमा प्रधानमन्त्री मोदीलाई बधाई छ, दक्षिण एसियाको शान्ति, समृद्धि र प्रगतिका लागि सहकार्य गर्न चाहन्छौँ।’
प्रधानमन्त्री खानले यसअघि पनि मोदीको पार्टीले नै धेरै ठाउँमा जित हासिल गर्न सक्ने र उनीसँग मिलेर आफूले काश्मिर समस्या समाधान गर्न सक्ने बताएका थिए। –रासस÷एएफपी