चितवन, १० जेठ। चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रसाढे ५५ लाख रूपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गर्ने भएको छ। चितवन महोत्सव मूल आयोजक समितिले शुक्रबार नारायणगढमा खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमार्फत आम्दानी भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ रूपैयाँ क्रिकेट रंगाशाला निर्माणमा सहयोग गर्ने जानकारी गराएको हो।
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको १२औँ चितवन महोत्सवबाट तीन करोड ४४ लाख ५४ हजार ११७ रूपयाँ आम्दानी गरेको थियो। महोत्सव मूल आयोजक समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले क्रिकेट रङ्गशालाको लागि रकम थप गरी रु एक करोड पुर्याउने बताए। भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ ।
उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो ।