चितवन, १० जेठ। नेपाललाई बहुभाषिक, बहुधार्मिक तथा बहु सांस्कृतिक देश भनेर सदियौँदेखि भन्दै आइरहेको कुरा हो, जुन भनाइ अहिले पनि कायमै छ। तर, अवस्था पहिले जस्तो छैन। पुस्ता हस्तान्तरण हुनुपर्ने नेपालको मौलिक संस्कृति तथा नेपालको इतिहास बोकेको लोक गीतसंगीतमा पश्चिमा मुलुकको प्रभावले गर्दा युवापुस्ता पनि आफ्नो मौलिक पहिचान र रहनसहन छाडेर पश्चिमा संस्कृतिलाई नै अपनाउन थालिसकेका छन्। जसले गर्दा हाम्रो भाषा, धर्म, संस्कृति, भेषभूषा तथा रहनसहन लोप हुने अवस्थामा पुगिसकेको छ।

नेपालको मौलिक लोकगीत संगीतसँगै पहिचान नै नासिने खतरा बढ्दै गएपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले शुक्रबार चितवनको रत्ननगरमा बहुभाषिक लोकगीत उत्सव नै आयोजना ग¥यो। उत्सवले युवापुस्तामा पनि मौलिक संस्कृतिबारे चासो बढ्ने प्रतिष्ठानले विश्वास लिएको छ। ‘प्रतिष्ठानले सबै जातजातिको मौलिक लोकगीतको प्रदर्शन गरेर संस्कृति संरक्षण गर्ने प्रयास गरेको छ,’ कार्यक्रम संयोजक एवम् वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले भनिन्, ‘यसरी फरक समुदायको फरक मौलिक संस्कृतिलाई एउटै मञ्चमा उतार्दा समुदाय–समुदायबीचको सम्बन्ध पनि बलियो बन्दै जान्छ।’ खासगरि मौलिक लोक संस्कृति संरक्षण र सम्वद्र्धनको लागि बहुभाषिक लोकगीत उत्सव–२०७६ आयोजना गरिएको उनको भनाइ छ।

उत्सवमा गुरूङ, मगर, तामाङ, चेपाङ, थारू, दरै, ब्राह्मण, कुमाल, चेपाङलगायत विभिन्न समुदायले आ–आफ्नो मौलिक लोकसंस्कृतिको प्रदर्शन गरेका थिए। नेपाली मौलिक लोक गीतसंगीत तथा संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी नगराए एकदिन यी सबै हराएर जान सक्ने हुँदा यसको सस्ंरक्षण र सम्बद्र्धनको लागि अहिलेबाटै पहल थालिनुपर्ने उनले बताइन्। ‘संकटमा पर्न थालेको मौलिक लोक गीतसंगीत र भेषभूषा तथा भाषालाई उत्सवको रूपमा मनाउँदा यसलाई लिपीवद्ध गर्ने र प्रदर्शन गर्ने प्रतिष्ठानको उद्देश्य हो,’ उनले भनिन्।
प्रतिष्ठानका सदस्य सचिव एवम् अग्रज गीतकार श्याम तमोटले भने प्रतिष्ठानले मात्रै कार्यक्रम गरेर संरक्षण नहुने बताए। ‘नेपालको लोक गीतसंगीत तथा विभिन्न समुदायभित्र पाइने भाषा संस्कृति देशको अमूल्य गहना भएकोले राज्यले संरक्षण गर्नु उसको दायित्व हो,’ उनले भने, ‘तर, राज्यको भन्दा ठूलो दायित्व सम्बन्धित समुदायकै हुन्छ।’ नेपालमा मौलिक संस्कृति संरक्षणको लागि आदिवासी जनजाति महासंघले विभिन्न खालका कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छन्।

तर, आदिवासी जनजाति महासंघले आदिवासी समुदायभित्र पर्ने समुदायसँग मात्रै सम्बन्धित कार्यक्रमलाई प्राथमिकता दिने भएकोले अन्य खस आर्य समुदायको संस्कृतिले स्थान नपाउने गरेको उनको भनाइ छ। देशभर बोलिने १२५ भाषामध्ये कतिले आफ्नै भाषा बिर्सिसकेकोले त्यसलाई पनि खोज अनुसन्धान गरेर पुरानै अवस्थामा फर्काउनु आवश्यक रहेको उनले बताए। ‘तर, यसको लागि स्थानीय, प्रदेश र केन्द्र तीनै तहको सरकारले ध्यान पु¥याउनुपर्छ,’ उनले भने।
प्रदेश नं. ३ का वन तथा संस्कृति, पर्यटन मन्त्री अरूण नेपाल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले प्रदेश सरकारले पनि नेपाली मौलिक लोकगीत संरक्षणको लागि बजेट विनियोजन गरेर काम गर्नुपर्ने सुझाव दिए। तर, मन्त्री नेपालले भने योवर्ष कानुन निर्माणकै चरणमा रहेको भन्दै आगामी वर्षमा सोच बिचार गर्न सकिने आश्वासन दिए। ‘हामी योवर्ष कानुन निर्माण प्रक्रियामा छौँ,’ उनले भने, ‘त्यसैले योवर्ष यसबारे बजेट छुट्याउन सक्ने अवस्थामा छैन। आगामी वर्षहरूमा भने छलफल गरेर काम गरौँला।’