चितवन, ११ जेठ। आज मे २५ अर्थात् विश्व थाइराइड दिवस। आजको दिन विश्वभर नै थाइराइड रोगबारे आमनागरिकलाई सुसूचित गराउँदै यो दिवस मनाइन्छ। सन् २००७ देखि हरेक वर्ष मे २५ का दिन विश्व थाइराइड दिवस मनाउँदै आइएको छ। यसवर्ष ‘थाइराइड रोग र थाइराइड क्यान्सरको असर’ भन्ने मूल नारासहित विश्व थाइराइड दिवस मनाइँदैछ। दिवसको अवसर पारेर चितवनका विभिन्न अस्पताल तथा क्लिनिकहरुले थाइराइडसम्बन्धि स्वास्थ्य शिविर, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम गरेका छन्।
पछिल्लो समय नेपालमा पनि थाइराइडका बिरामीको संख्या बढ्दै गएका चिकित्सकहरु बताउँछन्। ‘तर, अधिकांश मानिसहरू थाइराइडबारे अझै अनभिज्ञ छन्,’ न्युक्लियर मेडिसिन विशेषज्ञ डा मधु न्यौपानेले भने। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ५० प्रतिशत मानिसलाई थाइराइड रोगबारे जानकारी नै छैन। संसारमा छ प्रतिशत मानिसमा थाइराइड रोग रहेको संगठनले जनाएको छ। मधुमेह, बाथरोगलगायत दीर्घरोग भएका मानिसहरूमा थाइराइडको जोखिम दोब्बर हुन सक्ने चिकित्सकहरु बताउँछन्।
न्युक्लियर मेडिसिन विशेषज्ञ डा मधु न्यौपानेका अनुसार थाइराइड रोग खतरापूर्ण रोग भने होइन। ‘तर, समयमै थाइराइड रोग पत्ता नलागे मुटुमा असर गर्ने, कोलेस्टेरोल बिगार्ने, रक्तचाप बिगार्ने, आँखामा असर गर्ने, महिलामा महिनावारी अनियमित हुनेलगायतका समस्या देखिने सक्छ,’ उनले भने। थाइराइड रोग समयमै पहिचान गराएर औषधि सेवन गरे सुरक्षित रहन सकिने उनको भनाइ छ। भरतपुर अस्पतालको मेडिसिन विभागमा दैनिक १० देखि १५ जना थाइराइडका नयाँ बिरामी परीक्षणका लागि आउने गरेका भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले जानकारी दिए। उनका अनुसार थाइराइड रोग पुरूषको तुलनामा महिलामा बढी देखिने गरेको छ।
फिजिसियन डा भोजराज अधिकारीका अनुसार हाइपो थाइराइड भएका मानिसहरू मोटो हुने, अल्छी हुने, छिटो थाक्ने र उच्च रक्तचाप कम हुने, मुटुको धड्कन कम हुने, कब्जियत हुने प्रकृतिका हुन्छन्। हाइपर थाइराइड भएका मानिसहरूमा डराएको जस्तो, मुटुको धड्कन भड्किने, निद्रा कम लाग्ने, शरीर पातलो हुने, पखाला लाग्नेजस्ता समस्या देखा पर्छन्।
ओस्टियोलाइफ थाइराइड हेल्थ केयरद्वारा निःशुल्क परीक्षण
शनिबार विश्व थाइराइड दिवसको अवसरमा भरतपुरस्थित ओस्टियोलाइफ थाइराइड हेल्थ केयर प्रालिले निःशुल्क परीक्षण गराएको छ। धेरै मानिसहरूलाई थाइराइड रोगबारे जानकारी नै नहुने हुँदा समयमै रोगबारे जानकारी गराउन र रोगबाट मुक्त गराउनको लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको प्रालिका चन्द्रसिंह भण्डारीले जानकारी दिए। उनका अनुसार पहिलेको तुलनामा स्वास्थ्य परीक्षण गराउनेको संख्यामा वृद्धि भएको छ।
शनिबार आयोजना गरेको निःशुल्क थाइराइड परीक्षणमा पाँचसय जनाले परीक्षण गराइसकेका छन्। थाइराइड वंशाणुगत गुणको आधारमा र उमेरको आधारमा पनि लाग्न सक्नो ओष्टियोलाइफ थाइराइड हेल्थ केयर प्रालिका अर्थोपेडिक सर्जन डा सुनिल पन्त बताउँछन्। ‘उमेर बढ्दै गएपछि पनि थाइराइडको समस्या देखिन सक्छ,’ उनले भने, ‘अन्य रोगको कारणबाट पनि थाइराइडको समस्या निम्तिन सक्छ।’
पुष्पाञ्जलीमा अन्तरक्रिया
दिवसकै अवसरमा भरतपुरस्थित पुष्पाञ्जली अस्पताल प्रालिले शनिबार अन्तरक्रिया गरेको छ। थाइराइड रोगबारे जनचेतना जगाउनको लागि कार्यक्रम गरिएको अस्पतालका कार्यक्रम संयोजक गोपालप्रसाद पौडेलले जानकारी दिए। कार्यक्रममा फिजिसियन डा भोजराज अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्ने क्रममा धेरै मानिसले आफूलाई थाइराइड छ कि छैन भन्ने जानकारी नै नहुने दाबी गरे।
थाइराइडको समस्या भएका व्यक्तिको शरीरको छाला सुख्खा हुनु, महिनावारीमा गडबडी आउनु, कपाल झर्नु, कब्जियत हुनु, थकित तथा कमजोर महसुस हुनु, सुुस्त हुनु, चिसो सहन नसक्नुलगायतका लक्षण देखिएमा थाइराइडको समस्या हुन सक्ने उनको भनाइ छ। हाल पुष्पाञ्जली अस्पतालमा मात्रै दैनिक २०० जना थाइराइडका बिरामी आउने गरेको उनले बताए। अस्पतालले वि.सं. २०६७ सालदेखि थाइराइड रोगको परीक्षण थालेको थियो।
उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मी र शंकर लौडारीले थाइराइडको समस्याले मुटुमा पार्ने प्रभावबारे जानकारी गराएका थिए। यस्तै महिला तथा स्त्री रोग विषेशज्ञ डा हेम सुवेदी, न्युक्लियर मेडिसिन विशेषज्ञ डा मधु न्यौपाने, बालरोग विशेषज्ञ डा किरण देवकोटालगायतले थाइराइड रोगबाट स्वास्थ्यमा पर्ने अन्य समस्याबारे जानकारी गराएका थिए। भरतपुर महानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख प्रधुम्न उपाध्याय प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजसेवीहरू डा रविमोहन सापकोटा, प्रेम रिमाल, केशव रेग्मीलगायतको उपस्थिति थियो।
अस्पतालले शनिबार थाइराइड दिवसको अवसर पारेर थाइराइड परीक्षणमा ५० प्रतिशत छूटको व्यवस्था गरेको थियो। शनिबार एक दिनमा मात्रै एक हजार दुईसय जनाले थाइराइडको परीक्षण गराएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए।
के हो थाइराइड ?
घाँटीको अघिल्लो भागमा रूद्रघण्टीको वरिपरि हुने २० देखि ४० ग्रामको पुतली आकारको ग्रन्थीलाई थाइराइड भनिन्छ। यसले हर्माेन उत्पादन गर्छ। हर्माेन रगतमा मिसिएपछि मानिसको शरीर मोटाउने, पातलो हुने, तातो–चिसो हुनेलगायतको काम गर्छ। हर्माेन बढी वा कमी भएमा थाइराइड रोग लाग्ने गर्दछ। हर्माेनको कमी भएमा हाइपो थाइराइड र बढी भएमा हाइपर थाइराइड हुन्छ।
फिजिसियन डा भोजराज अधिकारीका अनुसार हाइपो थाइराइड भएका मानिसहरू मोटो हुने, अल्छी हुने, छिटो थाक्ने र उच्च रक्तचाप कम हुने, मुटुको धड्कन कम हुने, कब्जियत हुने प्रकृतिका हुन्छन्। हाइपर थाइराइड भएका मानिसहरूमा डराएको जस्तो, मुटुको धड्कन भड्किने, निद्रा कम लाग्ने, शरीर पातलो हुने, पखाला लाग्नेजस्ता समस्या देखा पर्छन्।
थाइराइडबाट बच्न विषादीयुक्त खानेकुरालाई नियन्त्रण गरेर अर्गा्निक खानामा जोड दिनुपर्ने उनले बताए। खतरनाक विकिरणबाट टाढै रहने, सलाद धेरै खाने र गाडेको खानेकुरा कम खान चिकित्सकहरूले सुझाव दिएका छन्।