काठमाडौं, ११ जेठ। सडक बोर्ड नेपालले चितवनको भरतपुरस्थित गोन्द्राङ्गमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र (ढाट) नसार्न निर्देशन दिएको छ।
२०७६ वैशाख १७ गते ब्रिटानिक मौलाकालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.सँग भएको दुईपक्षिय करार सम्झौताको कन्ट्र्याक्ट डाटा शीटको बुँदा नम्बर १४.१ मा भएको व्यवस्थालाई दर्शाउँदै हाल सङ्कलन गर्दै आइरहेको स्थानबाटै सडक उपभोग दस्तुर सङ्कलन गर्न भनी सडक बोर्डले मिति २०७६ जेष्ठ ८ गते चलान नं. १९१३ को पत्रबाट सम्बन्धित पक्षलाई पत्र काटेको छ। ठेक्का सम्झौता भइसकेकोले यो करार अवधीभर अन्यत्र सार्न नमिल्ने सडक बोर्डका प्राबिधिक निर्देशक सागर ज्ञवालीले बताए।
गत जेठ ३ गते उक्त ढाट सार्नुपर्ने भन्दै प्रदेश सांसद कृष्ण खनालको नेतृत्वमा गएका स्थानीयले ढाटमा आगजनी गरेका थिए। सो क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का पौडेल जलेर घाइते भएकी थिइन। हाल उनको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। घटनामा संलग्न भएको आरोपमा चितवन प्रहरीले उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम पौडेलसहित ३ जनालाई पक्राउ गरेको थियो। तीनैजना धरौटीमा रिहा भइसकेका छन्।
यो पनि पढ्नुहोस्
टिकौली ढाटमा आगजनी, एक प्रहरी घाइते