चितवन, ११ जेठ। चितवनको भरतपुरस्थित ओस्टियोलाइफ थाइराइड हेल्थ केयर प्रालिले आयोजना गरेको निःशुल्क थाइराइड परीक्षणमा ६०० जनाले सेवा लिएका छन् । परीक्षण गराएकामध्ये ६० प्रतिशतमा थाइराइडको समस्या देखिएको प्रालिले जनाएको छ । धेरै मानिसहरूलाई थाइराइड रोगबारे जानकारी नै नहुने हुँदा समयमै रोगबारे जानकारी गराउन र रोगबाट मुक्त गराउनको लागि शनिबार विश्व थाइराइड दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य परीक्षण गराइएको प्रालिका चन्द्रसिंह भण्डारीले जानकारी दिए ।
उनका अनुसार पहिलेको तुलनामा स्वास्थ्य परीक्षण गराउनेको संख्यामा वृद्धि भएको छ । थाइराइड वंशाणुगत गुणको आधारमा र उमेरको आधारमा पनि लाग्न सक्नो ओष्टियोलाइफ थाइराइड हेल्थ केयर प्रालिका अर्थोपेडिक सर्जन डा सुनिल पन्त बताए । ‘उमेर बढ्दै गएपछि पनि थाइराइडको समस्या देखिन सक्छ,’ उनले भने, ‘अन्य रोगको कारणबाट पनि थाइराइडको समस्या निम्तिन सक्छ ।’
न्युक्लियर मेडिसिन विशेषज्ञ डा मधु न्यौपानेका अनुसार थाइराइड रोग खतरायुक्त रोग होइन । तर, समयमै थाइराइड रोग पत्ता नलागे मुटुमा असर गर्ने, कोलेस्टेरोल बिगार्ने, रक्तचाप बिगार्ने, आँखामा असर गर्ने, महिलामा महिनावारी अनियमित हुनेलगायतका समस्या देखिने सक्ने उनको भनाइ छ । थाइराइड रोग समयमै पहिचान गराएर औषधि सेवन गरे सुरक्षित रहन सकिने उनले सुझाव दिए ।