काठमाडौँ, १२ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो वर्षको गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको छ। दिवसको अवसरमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयक अन्तरक्रिया गर्ने, जेठ १५ गते ७७ वटै जिल्लामा प्रभातफेरी र बेलुकी मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए।
काठमाडौँ उपत्यकामा भने बिहान शान्ति वाटिकाबाट प्रभातफेरी प्रारम्भ गर्दै शहरका विभिन्न चोक हुँदै पुनः शान्ति वाटिका पुगेर कार्यक्रम समापन गरिने उनले बताए। यस्तै साँझ शान्ति वाटिकामा दीप प्रज्ज्वलन गरिनेछ। जेठ १६ गते ‘संघीयता कार्यान्वयन’ विषयका अन्तरक्रिया गर्ने, काठमाडौँमा सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ। -रासस