जुम्ला, १२ जेठ। प्रायः जिल्लाहरुमा गाउँबाट सदरमुकाम झर्नेको लर्को लागिरहेका बेला जुम्लामा भने सदरमुकामबाट गाउँ फर्कनेको संख्या बढेको छ। स्थानीय सरकार गठनपछि सदरमुकाम बस्नेहरु पनि गाउँ फर्किन थालेका छन्, जसले गर्दा सदरमुकाम खलङ्गा बजारमा चहलपहल घटेको छ। सरकारी कार्यालय बन्द हुँदा र जिल्लाका आठवटै तहबाट सरकारी सेवा सञ्चालन हुन थालेपछि सदरमुकाममा चहलपहल घटेको हो।
खलङ्गामा व्यवसाय र सरकारी कामका लागि आउने घटेपछि सुनसान भएको छ। वर्षौँदेखि व्यापार व्यवसाय गर्दै आएकाहरुले समेत सदरमुकाम छाड्ने क्रम बढेको छ। यातायातको पहँुच, व्यापार व्यवसायको स्थापना, गाउँमै सरकारी सेवा प्रवाहलगायत सेवा सुविधाका कारण सदरमुकामबाट गाउँ फर्कने बढेका छन्। जिल्लाबाहिरका संघ–संस्था, सरकारी कर्मचारीलगायतका आगन्तुकको चहलपहल पनि घटेको छ।
चहलपहल घटेपछि खलङ्गामा व्यापार व्यवसायसमेत घटेको उद्योग वाणिज्य संघका अध्यक्ष रजव अलि मनीहारले बताए। उनका अनुसार विगतको तुलनामा योवर्ष सदरमुकाम खलङ्गामा चारगुणाले खलचहलपहल कम भएको छ। व्यापार व्यवसाय गर्नेसमेत गाउँ फर्केकाले खलङ्गा सुनसान भएको उनको भनाइ छ।
पसल तथा होटलमा भरिभराउ हुने ग्राहक आजभोलि फाटफुट मात्र आउने गरेका उनले बताए। नागरिकता प्रमाणपत्र बनाउन, जिल्ला अदालतमा मुद्दा दर्ता गर्न र कहिलेकाहीँ बंैकिङ कारोबारका लागि मात्र ग्रामीण क्षेत्रबाट फाटफुट रुपमा सदरमुकाम आउने गरेका व्यापारी भीमबहादुर भण्डारीले बताए। रासस