काठमाडौँ, १२ जेठ। काठमाडौँमा आइतबार साँझ सिलिण्डर बिस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। घट्टेकुलोको सङ्गम गल्लीमा भएको सिलिण्डर विस्फोट हुँदा २६ वर्षीय रविन केसीको मृत्यु भएको हो। केसीको शरीर क्षतविक्षत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोही घटनामा परि थप एक जना घाइते भएका छन्। घाइतेलाई स्थानीयको सहयोगमा उपचारका लागि वीर अस्पतालमा पुर्याइएको छ। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
मृतक केसी विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी)का त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार सिलिण्डर बिस्फोटबाट घरको गारो नै चर्किएको छ भने कोठामा भएको सामानमा समेत क्षति पुगेको छ। घटनास्थलमा थप विस्फोटक पदार्थ रहेको आशङ्कामा नेपाली सेनाको तालिमप्राप्त टोली परिचालन भएको छ।
आइतबारे सुकेधारामा भएको अर्को बिस्फोटमा परि दुई जनाको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र अर्का एकको भने उपचारको क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। दुवै घटनास्थलमा नेपाली सेना तथा नेपाल प्रहरी परिचालित भई अनुसन्धान जारी राखेका छन्।
सुकेधारा र घट्टेकुलोमा सिलिण्डर नै विस्फोट भएको पाइएको प्रहरीको भनाइ छ। तर, आफँै विस्फोट भयो कि गराइयो भन्नेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ। सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। -रासस