चितवन, १३ जेठ। नेपाल प्रेस युनियन चितवनले रजत वर्षको शुभारम्भ गरेको छ। युनियनको स्थापना भएको २५ वर्ष पार गरेको अवसरमा सोमबार बिहान सामुहिक हिँडाइ (वाकाथुन) गरेर रजत वर्षको कार्यक्रम शुभारम्भ गरिएको हो। भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुल्चोकसम्म आयोजना गरिएको वाकाथुनमा करिब ५०० भन्दा बढी मानिसहरु सहभागी थिए।
सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता तेजेन्द्र खड्कालगायत पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधि एवं शुभेच्छुकले सहभागिता जनाएका थिए।
कार्यक्रम शुभारम्भको अवसरमा नेपाल चिकित्सक संघ चितवनका सचिव फिजिसियन डा भोजराज अधिकारीले नियमित हिँडाइले शारीरिक र मानसिक फाइदा पुग्ने बताए। दैनिक १० हजार पाइला हिँड्नुपर्ने भन्दै स्वस्थ रहन हरेक दिन ३० मिनेट हिँड्न उनले सुझाव दिए।
नियमित हिँडाइले उच्च रक्तचाप, मधुमेह, कोलेस्टरजस्ता समस्या हुनबाट रोक्ने उनको भनाइ छ। साथै हड्डी र मासुको समस्या कम हुने उनको भनाइ छ। बिहानीको हिँडाइले मानसिकरुपमा स्फूर्त हुने भन्दै दिनभरको काममा सहजता आउने उनले बताए।
सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले सबै नागरिक स्वस्थ नबनेसम्म मुलुक समृद्ध नहुने भएकाले युनियनले केन्द्रीय समितिको स्थापना दिवसको अवसर पारेर सोमबार जिल्ला शाखाको रजत वर्षमा गरिने कार्यक्रमहरुको औपचारिक सुरुवात गरिएको जानकारी दिए।
विसं २०४८ साल जेठ १३ गते युनियनको केन्द्रीय समिति गठन भएको थियो। त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो। २५ वर्ष पूरा भएको वर्ष भवन निर्माणमा केन्द्रित भएकोले युनियनले यस वर्ष रजत वर्ष मनाउन लागेको हो।
रजत वर्षका अवसरमा युनियनले श्रमजीवी पत्रकारको अवस्था र कार्यान्वयनको विषयमा अन्तक्र्रिया, सरकारी निकायका सूचना अधिकारीसँग पत्रकारको अन्तक्र्रिया, खुला फोटो प्रतियोगिता, महिला पत्रकारको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारलाई सम्मानलगायतका कार्यक्रम तय गरेको छ।
सोही अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्त परीक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रित भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडिएको बस्तीमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारिका विमोचनसँगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिए। -रासस