काठमाडौँ, १३ जेठ। राजधानीलगायत जिल्लामा बढ्दै गएको हत्या, हिंसा तथा महिला यौन दुर्व्यवहारका घटनाप्रति सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद शान्ता चौधरीले देशमा बढ्दै गएको आपराधिक क्रियाकलापले जनतालाई त्रसित बनाएकोले तत्काल बार्तामा ल्याउन सरकारलाई आग्रह गरिन्। ‘मुलुकले सहकार्य र विकास खोजेको छ,’ उनले भनिन्, ‘द्वन्द्व र आतंकबाट समस्या समाधान हुँदैन, त्यसैले विप्लव नेतृत्वको नेकपा माओवादीलाई पनि गोला बारूद रोकेर वार्तामा आउन आग्रह गर्दछु।’
सांसद सुजाता परियारले सरकारले देशमा शान्ति सुरक्षा मजबुद गरेको भन्दै जनतामा भ्रम मात्रै छर्ने काम गरेको आरोप लगाइन्। आइतबार साँझ सिंहदरबार नजिकै घट्टेकुलोमा भएको बम फिस्फोटको घटनालाई लिएर उनले भनिन्, ‘सिंहदरबारकै नजिक बम पड्किन्छ, अनि जनता कसरी भयो सुरक्षित ? दिनप्रतिदिन हत्या हिंसाका घटना बढ्दै जानु भनेको देशको सुरक्षा व्यवस्था कमजोर भएको सावित हुनु होइन ?’
मुलुकमा शान्ति र सुशासनको प्रत्याभूति दिलाउनुपर्ने बताउँदै कैलालीकी निर्मला पन्त तथा पाँचथरका एकैपरिवारको हत्याको घटनाबारे प्रभावकारी अनुसन्धान गर्न र नेत्रविक्रम चन्द समूहसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिए। बैठकमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा मालपोत कार्यालय स्थापना गर्न र सांसद लीलानाथ श्रेष्ठले सुनकोशी कमलामाई नदीमा डाइभर्सन निर्माण तत्काल अघि बढाउन आग्रह गरे।
बैठकको शून्य समयमा बोल्दै सांसद लालकाजी गुरुङ, बहादुरसिंह लामा, सत्यनारायण शर्मा खनाल, सत्य पहाडी, समिना हुसेन, सरिताकुमारी गिरी, सीतादेवी यादव, स्मृतिनारायण चौधरी, हरिराज अधिकारी, ज्ञानकुमारी छन्त्याललगायत सरकारको ध्यानाकर्षण गराएका हुन्।