चितवन, १३ जेठ। नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रंगशाला निर्माणबारे घिसिङलाई जानकारी गराएका थिए। कट्टेलले डीपीआर निर्माण हुन अगाडिका प्रारम्भिक चरणका कामहरू सबै तीव्र गतिमा अघि बढाइएको जानकारी दिए।
रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रूखहरू हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआरलगायतका कामहरू अघि बढिरहेको कट्टेलले बताए। रंगशालास्थल निरीक्षणपछि कुरा गर्दै नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए।
घिसिङले रंगशाला निर्माणस्थलको छनौट उपयुक्त रहेको भन्दै तोकिएकै समयभित्र रंगशाला निर्माणको काम सकेर जनतालाई खुसीको सञ्चार गराउन निर्माण पक्षलाई आग्रह गरे। घिसिङले फाउण्डेशनका अध्यक्ष कट्टेलसँग रंगशाला निर्माणका लागि आवश्यक पर्ने विद्युत, ट्रान्सफर्मर, सब-स्टेशन निर्माणमा प्राधिकरणले खुल्ला हृदयका साथ सहयोग गर्ने वचन दिएका छन्।
रंगशालाको पूरा डीपीआर आएपछि काम गर्न अझै सजिलो हुने भन्दै कार्यकारी निर्देशक घिसिङले नआत्तिन कट्टेललाई आग्रह गरे। रामपुरमा २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको सो रंगशालामा पिच निर्माणका लागि काम सुरू गरिएको छ। पिच निर्माणका लागि खाल्डो खनेर माटो पेल्ने काम भइरहेको कट्टेलले बताए। धुर्मुस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर महानगरपालिका वडा नम्बर १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतीको बारेमा जानकारी लिएका हुन्।