काठमाडौँ, १३ जेठ। गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ। सोमबार साँझ गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानुनी एवम् शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेका छन्।
निर्दाेष नागरिकको जिउधनमाथि सांघातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर बिस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलगायतका घटना अमानवीय भएको भन्दै मन्त्रालयले त्यसको भत्र्सनासमेत गरेको छ। कानुन र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। अहिलेसम्म बिस्फोटको योजनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको र नेपाल बन्दका नाममा केही शङ्कास्पद घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको विज्ञप्तिमा भनिएको छ।
आइतबार विभिन्न स्थानमा भएका बम बिस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका थिए। उनीहरु सोही समूहका कार्यकर्ताहरु नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि मन्त्रालयले जनाएको छ। विभिन्न स्थानमा विप्लव समूहले राखेको बिस्फोटनको तयारीलाई सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ। –रासस