काठमाडौँ, १३ जेठ। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कुनै पनि मुलुकको लोकतन्त्र सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन्।
नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले जनताको भावना जागृत गराउन प्रेस स्वतन्त्रता आवश्यक रहेको बताएका हुन्।
‘सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्छ, हामी प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कानुन पारित हुन दिन्नौँ,’ उनले भने। सरकारले संविधानको भावना विपरित कार्य गरेको उनले आरोप लगाए। कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको प्रेस स्वतन्त्रता कसैको कृपाले स्थापित नभई स्वयं सञ्चारकर्मीको योगदानले स्थापित भएको बताए। वर्तमान सरकारले विभिन्न कानुनमार्फत व्यक्तिगत स्वतन्त्रतामा अङ्कुश लगाउन खोजेको उनको आरोप छ। कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले नागरिकका अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउँदै लोकतन्त्रको रक्षाका लागि कांग्रेसको सुदृढीकरण आवश्यक रहेको बताए। -रासस