चितवन, १४ जेठ। नेपाली लोकदोहोरी क्षेत्रमा रोइला मास्टरको उपमा पाएका गायक शिरिष देवकोटा नयाँ सांगीतिक कोसेलीसहित दर्शकस्रोतासामु उभिएका छन्। रमेश बिजीको शब्दमा तयार भएको लोक तथा दोहोरी गीत ‘छोरो अमेरिका छ’ लिएर उपस्थित भएका हुन्। पछिल्लो समय पैसाको लागि विकसित राष्ट्र अमेरिका, अष्ट्रेलिया, युके, जापान, क्यानडा, युरोपलगायतका देश पुगेका छोराछोरीले आफ्ना बाबुआमालाई तथा घर परिवारलाई नै बिर्सँदै गएको नेपाली समाजको तीतो यथार्थलाई गीतमार्फत प्रस्तुत गरिएको छ।

देवकोटा स्वयम्ले लय संकलन गरेको उक्त गीतमा उनलाई सम्झना भण्डारीले आवाजमा साथ दिएकी छन्। बिनोद बाजुरालीको म्युजिक एरेञ्जमा तयार भएको उक्त गीतको भिडियोमा भने अभिनेता निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरूङ, रमेशबाबु थापा, प्रतिकजंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुवास शर्मा, ममता गुरूङ, रोशन भुसाललगायतका कलाकारहरूले अभिनय गरेका छन्। भिडियोमा राजेश घिमिरेको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको छ।

मौलिकतालाई विशेष ख्याल राख्ने पाल्पाली गायक देवकोटाको यसअघिका ‘चाँचरी’, ‘मालचरी’, ‘करुवामा पानी’, ‘म त आउने थिइनँ’, ‘नजरैको भर’, ‘तल्लाघरे सान्नानी’, ‘अन्तिम भेट’, ‘यो दाइ फेरि आउँदैन’, ‘दुर्गा हौ कि भवानी’, ‘माया लाउन मिल्छ र ?’, ‘छ महिनामै धोका’, ‘विष खान देऊ’लगायतका गीत चर्चामा छन्। कुनै समय जनवादी गीत ‘आयो है आयो साइँला दाइ’ र ‘सहिदको रगत’ पनि चर्चामा थिए।