– मानदत्त रावल
जुम्ला, १४ जेठ।
नेपाली हावापानीको लागि सामान्यतया असारमा धान रोपिन्छ। तर, जुम्लामा भने यतिबेला कालीमार्सी धान रोप्न भ्याईनभ्याई छ। बढी चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने हुँदा जुम्लामा हरेक वर्ष जेठमै धान रोप्ने गरिन्छ।
पछिल्लो समय बजारमा मार्सी चामलको माग उच्च रहे पनि यसको उत्पादन घट्दै गएकाले मार्सी लोप हुन नदिन पातारासी गाउँपालिका र कर्णाली कला केन्द्रको आयोजनामा योवर्ष छुमचौर ज्युलोमा सामूहिक रोपाइँ महोत्सव नै आयोजना गरेको छ। मार्सी संरक्षणका लागि छुमचौरमा महोत्सवको आयोजना गरिएको हो।
‘जेठमा धान नरोपे असोजमा पर्ने तुसारोका कारण यहाँ धान पाक्दैन,’ कृषिविज्ञ बालकराम देवकोटाले भने, ‘धान रोपेपछि पाक्नलाई आवाश्यक पर्ने १५० देखि १६५ दिन हो, असारमा धान रोपे कात्तिकसम्म पाक्दैन, त्यसैले परम्परादेखि जेठमै धान रोप्ने चलन छ।’ गिनिजबुक अफ द वल्र्ड रेकर्डका अनुसार विश्वकै अग्लो स्थान समुद्री सतहबाट दुई हजार ७९० मिटर उचाइकमा रहेको जुम्ला छुमचौर ज्युलोमा मार्सी धान फल्छ। पछिल्लो समय मार्सी लोप हुँदै गएपछि यसको संरक्षणमा कृषकदेखि स्थानीय सरकार लागिपरेका छन् ।
बजारमा मार्सीको माग बढ्दो छ । तर ‘ब्लास्ट’ रोगको सङ्क्रमण र असिनापानीले मार्सी झर्न थालेपछि यसको उत्पादन घट्दो छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाको एक हजार ३०० हेक्टरमा मार्सी खेती हुँदै आएको छ। यो धान शितोष्ण हावापानीको लागि उपयुक्त मानिन्छ। पातारासी गाँउपालिकाको छुमचौर ज्युलोबाहेक अन्य गाउँका नागरिकले करिब एक दशकअघिदेखि मार्सी रोप्न छाडेका छन्। मार्सी संरक्षण र जिल्लाको पहिचानका लागि पनि यसको खेती छाड्न नहुने पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले बताए।
मार्सीको इतिहास
जुम्ली कालीमार्सी धानको उत्पत्ति १२औँ शताब्दीमा भएको उल्लेख छ। सन् १३०० मा गुरु चन्दननाथ स्वामीले भारतको काश्मीरबाट कालीमार्सी धानको बीउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालीम दिई धान खेती विस्तार गरेको इतिहास छ। मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको शेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो। अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा ‘सिक’ दिने प्रचलन छ।
मार्सी धानखेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ। जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो। जङ्गली धान भएकाले काली मार्सी भनिएको जुम्लाका संस्कतिविद् रमानन्द आचार्य बताउँछन्। जुम्लामा धानखेती बेँसीक्षेत्र (समुद्री सतहबाट दुई हजारदेखि दुई हजार २०० मिटर) र उच्च क्षेत्र (समुद्री सतहबाट दुई हजार ८०० देखि तीन हजार मिटर) मा हुने गरेको छ। -रासस