चितवन, १४ जेठ। पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ। रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा ५५ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो।
सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनियर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ। पछिल्लो प्रविधि अपनाएर बनाउन लागिएको सो सभाहल दुई हजार १०० वर्गमिटरको हुनेछ। सभाहलमा एक हजार सहजै बस्न सक्नेछन्। यसका अतिरिक्त १५० क्षमताको बैठककक्ष, आकर्षक स्टेज, पूर्वतयारी कक्ष, शौचालय, कार्यक्रममा नाम दर्ता गर्ने ठाउँ, भवनभित्र खुला क्षेत्र रहनेछन्।
भुसालले भवनको अगाडिको भाग गैँडाको टाउकोजस्तो देखिने गरी नक्साङ्कन गरिएको जानकारी दिइन्। दुई वर्षभित्रमा सभाहल निर्माण सम्पन्न गर्ने गरि बोलपत्र आह्वान गरिएको छ। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय र अन्तर्राष्ट्रिय ठूला कार्यक्रम गर्न सभाहल उपयोगी हुने बताए। मानिस बस्नका लागि होटल भएकाले सभाहल बनेसँगै धेरैको कार्यक्रम गर्ने चाहना सौराहा बन्ने उनको भनाइ छ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार सौराहामा हाल ११० होटल रहेका छन्। जहाँ दुई हजार ७५० जना बस्न सक्ने क्षमता रहेको छ। सभाहलको अभावमा सौराहामा ठूला कार्यक्रम कम आउने र पालको भरमा कार्यक्रम गर्नुपर्ने बाध्यता यसले अन्त्य गर्ने घिमिरेले बताए। -रासस