जाजरकोट, १४ जेठ। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। अघिल्लो भन्दा योवर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो। अहिलेसम्म एक करोड ९१ लाख रूपैयाँभन्दा बढी रकम यार्सा सङ्कलनकर्ताबाट उठेको निकुञ्जका छत्र खड्काले जानकारी दिए।
अघिल्लो वर्षको भन्दा यो वर्ष २६ प्रतिशत राजस्व बढी उठेको उनले बताए। अघिल्लो वर्ष एक करोड ९१ लाख रकम उठेको थियो। जाजरकोट, रूकुम, जुम्लाका स्थानीयवासी बढी यार्सागुम्बा सङ्कलनका लागि आएका छन्। अहिलेसम्म आठ हजार बढी यार्सा सङ्कलनकर्ता पाटनमा पुगेको खड्काले जानकारी दिए। सङकलनकर्ता बढ्न सक्ने बताइएको छ।
निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क मार्फत मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रू. ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रू. दुई हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि रू तीन हजार दस्तुर तोकेको छ। त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रूपमा छुट्टै ५०० रूपैयाँ लिन पाउने व्यवस्था छ।
निकुञ्जले छोडपुर्जी दस्तुरवाफत रू. ३० हजार तोकेकोे छ। पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिनाको अवधि रहने निकुञ्जले जनाएको छ। निकुञ्जभित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ। सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुमलगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण गरिरहेको छ।
जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिकरूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए।
निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा सङ्कलकसँग सल्लाह गरेर मङ्गलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ। निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरु जोखीम मोलेर बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन्।
यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौँ सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन्। पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढिरहेको रूकुम आठबीसकोट नगरपालिका राडीकी भगवती शाहीले बताइन्।
निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुल्न सकेका छैनन्। यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरूले जानकारी दिएका छन्। –रासस