चितवन, १५ जेठ। नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले शासनको स्वरूप गणतन्त्रात्मक भएपनि शैली पुरानै हुँदा गणतन्त्रप्रति नेपाली जनतामा तीव्र असन्तुष्टि बढेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले बुधबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पछिल्लो निर्वाचनले गणतन्त्र सुरक्षित हुने अपेक्षा रहेपनि अहिले झनै गणतन्त्र सुरक्षित होला भन्ने प्रश्न उब्जिएको बताए।
‘निर्वाचनपश्चात गणतन्त्र संस्थागत र सुरक्षित होला भन्नेमा थियौं,’ उनले भने, ‘अब कसरी सुरक्षित रहन्छ भन्नेमा प्रश्न उब्जिएको छ।’ नेपाली जनताको अधिकार खोस्न उद्धत रहेको बहुमत प्राप्त वर्तमान सरकारको क्रियाकलापप्रति पनि प्रमुख प्रतिपक्षी दल उदासिन रहेको भनदै चिन्ता व्यक्त गरे। संविधानको विपरीत हिड्न लागेको वर्तमान सरकारलाई रोक्न नागरिकको साथका लागि काँग्रेसले आफूभित्र आमुल परिवर्तन गर्न जरूरी रहेको बताए।