चितवन, १६ जेठ। लेखन विधा नै स्वतन्त्र विधा हो। त्यसैले लेखनमा जो आए पनि पाइन्छ। साहित्य बाहेकका व्यक्तिहरुले पनि पुस्तक लेख्न सक्छन्। हुन त नेपालमा राजनीतिमा सफल भएका व्यक्तिहरुले पुस्तक लेख्ने क्रम पुरानै हो। सोही धारलाई पछ्याउँदै नेपाली कांग्रेसका नेता नरहरि आचार्यले पनि पुस्तक लेखेका छन्। आफू जेल बस्दा लेखेको दैनिकीलाई उनले पुस्तकको रुपमा पाठकमाझ ल्याएका हुन्।
बुधबार चितवनस्थित कविडाँडा साहित्य समाजको निमन्त्रणामा आचार्यद्वारा लिखित पुस्तक ‘गणतन्त्रको यात्रा’माथि चर्चा गर्न नेता आचार्यसहित कांग्रेसकै प्रभावशाली नेता गगनकुमार थापा चितवन आए। गणतन्त्रसँग सम्बन्धित पुस्तक भएकोले बुधबार ११औँ गणतन्त्र दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले बताए। वीपी चिन्तन प्रतिष्ठान चितवन र सम्पूर्ण किताबले सह–आयोजकको भूमिका निभएको थियो भने समालोचक डा एकनारायण पौडेल र कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापा प्रमुख वक्ताको रूपमा उपस्थिति थिए।

खासमा नेता आचार्यलाई कांग्रेसभित्रको एकजना प्रभावशाली नेता मानिन्छन्। तर, समयअनुसार चल्दै जाँदा नेताबाट लेखकको रूपमा उभिन सफल भएको नेता थापाले भने। जेल बस्दा नेता आचार्य ६०० पेजको जेल वृत्तान्तसहित पाठकमाझ आउन सक्नु सकारात्मक भएके उनको भनाइ छ। उनका अनुसार नेता आचार्यले राजतन्त्र अन्त्यको लागि आवाज उठाउँदा पनि पार्टीभित्रैबाट विरोध हुन थालेपछि तत्कालीन पार्टी प्रवक्ताबाट राजिनामा दिएका थिए । राम्रो कुरामा सधैँ अडिग रहने नेताले आफ्नो पुस्तकमा आफ्नै दैनिक संघर्षलाई प्रस्तुत गरेका उनको भनाइ छ।

समालोचक डा एकनारायण पौडेलले भने नेपाली कांग्रेसभित्रै पनि नरहरि आचार्यले राजासँग घाँटी जोडेर हिँड्यो भन्नेहरूको लागि उत्तरको रूपमा ‘गणतन्त्रको यात्रा’ पुस्तक आएको बताए। नेता आचार्यले २०५२ सालदेखि नै नेपालमा गणतन्त्र चाहिन्छ भन्दै आएका थिए। त्यतिबेलै पार्टी सभापतिले पार्टीको आधिकारिक धारणा नभई नेता आचार्यको व्यक्तिगत धारणा भएको भन्दै विज्ञप्ती नै निकालेको थियो। त्यसपछि नै नेता आचार्यले तत्कालीन पार्टी प्रवक्ताबाट राजिनामा दिएका थिए। सोही प्रसंगलाई कोट्याउँदै समालोचक डा पौडेलले भने, ‘तर, त्यतिबेला पार्टीले नै स्वीकार गर्न सकेन। तर, ढिलै भए पनि गणतन्त्र आएको छ। त्यसैले नेता आचार्य भविष्य देख्न सक्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ। नेपालमा गणतन्त्र ल्याउनको लागि उहाँ (नरहरि आचार्य)को भूमिका महत्त्वपूर्ण छ।’

नेता आचार्यले भने २५४ दिन जेल बस्दा लेखेको दैनिकीलाई पुस्तकको रूपमा पाठकामु ल्याइएको बताएका छन्। ‘खासमा पुस्तकै लेख्छु भनेर लेखेको होइन,’ उनले सुनाए, ‘जेल बस्दा हरेक दिन दुईचार पाना लेख्दै जाँदा आठ महिना र केही दिनमा एउटा पुस्तक पो बनेछ।’ जेल बस्दा २०० भन्दा बढी चिठ्ठी आए पनि पुस्तकमा भने ५१ वटा मात्रै समावेश गर्न भ्याएको उनले बताए। ‘कतिपय चिठ्ठी त बल्ल हात पर्दैछ,’ उनले भने, ‘कतिपय साथीहरुले अझै पनि सबै चिठ्ठी समेट्नुपर्छ भनिरहनुभएको छ।’ गणतन्त्रसँग सम्बन्धित रहेर फुटकर लेख लेख्दै जाँदा पुस्तकको आकार बनेको भन्दै उनले थपे, ‘यो पुस्तकमा ३० प्रतिशत मात्रै साहित्य पाउनुहुन्छ। बाँकी सबै राजनैतिक विषय नै छ।’ नेता आचार्य लामो समयदेखि बिरामी छन्।
