चितवन, १६ जेठ। चितवनको रामपुरमा निर्माणधिन गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल पक्राउ परेका छन्। प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो। घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको स्थानीयले भत्काएका हुन्। बुधबार बिहान डोजरसहित आएका कँडेलले रंगाशाला निर्माणस्थलमा बनाइएको अस्थायी संरचना भत्काएका हुन्।
बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्क्याएका थिए। कलाकार सीताराम कट्टेल (धुर्मुस)ले गरिब जनताले रगत–पसिना खर्चिएर बनाउन लागेको क्रिकेट रंगशालाको कम्पाउण्ड वाल स्थानीयले डोजर चलाएर क्षत विक्षत तुल्याइदिएको गुनासो गरे। घटना पश्चात धुर्मुस–सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणकार्य समेत स्थगित गरेको छ। स्थायी समाधान ननिस्किएसम्म काम गर्न नसक्ने धुर्मुसले विज्ञप्तीमार्फत जानकारी गराएका छन्।