जाजरकोट, १८ जेठ। यार्सागुम्बा संकलनमा गएका सर्वसाधारणको लागि डोल्पाको पाटनस्थित नौवटा नाकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यार्सा सङ्कलनकर्ता बिरामी भएमा उनीहरूको उपचारको लागि व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निमित्त प्रमुख रनलाल कुलालले जानकारी दिए।
उनका अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको हो। अहिले जिल्लाका सबै ठाउँमा हिउँ पग्लिसकेकाले यार्सा सङ्कलन कार्य सुरू भइसकेको छ। जेठ १७ गतेदेखि चार ठाउँमा एचएसहितको टिम र पाँच ठाउँमा अहेवसहितको टिम परिचालन गरिएको उनले बताए।
जिल्लाका सबैभन्दा बढी सार्यागुम्बा पाइने र सङ्कलनकर्ताको अत्यधिक भीड हुने ठाउँमा प्रथमिकताका आधारमा स्वास्थ्य शिविर सञ्चालन गरि सर्वसाधारणलाई सेवा दिइएको प्रतिनिधिसभा सदस्य सत्या पहाडीले जानकारी दिइन्। फूलबारी, जगदुल्ला, ग्यालबारा, बागडाँडा र क्याङजूरुलगायतका पाटनलाई लक्षित गरि नौ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताइन्।
उनका अनुसार पहिलो चरणमा जेठ १७ गतेदेखि ३० गतेसम्म स्वास्थ्य शिविर रहने छ। शिविर सञ्चालन भएको ठाउँमा औषधि आवश्यकताका आधारमा ढुवानी भइसकेको उनले बताइन्। तर, स्वास्थ्य शिविर सञ्चालन गर्नुपूर्व नै पाँच जनाको भने मृत्यु भइसकेको छ।
त्यस्तै अन्य सुरक्षाका लागि पनि जिल्ला सुरक्षा समितिले सुरक्षाकर्मी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी मुकेश केसरीका अनुसार यसअघि सुरक्षा व्यवस्था कमजोर हुँदा विभिन्न खालका दुर्घटना हुने समस्या बढ्दै गएपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको हो। –रासस