काठमाडौँ, १८ जेठ। नेपाली शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व वरिष्ठ शिक्षाविद् स्व.गम्भीरमान मास्केद्वारा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ नामक पुस्तक तीन वटा भाषामा अनुवाद भएको छ। नेपाल भाषामा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ पुस्तक नेपाली भाषामा ‘दिवा स्वप्नमा आउने’ तथा ‘दि लिन्जेरिङ्ग इमेज अफ माई डेड्रिम’ शनिबार काठमाडौँमा एक समारोहका बीच विश्वनिकेतन माविमा विमोचन गरिएको छ। स्व मास्केले आफ्नी श्रीमती गंगाको सम्झनामा यो आत्मवृत्तान्त पुस्तक लेखेका थिए।
उक्त पुस्तक भाषाविद् तथा शिक्षाविद् तेजरत्न कंसाकारले नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुवाद गरेका हुन्। कूल ३५ वर्ष शिक्षण सेवामा बिताएका स्व गम्भीरमान मास्केले २८ वर्ष प्रधानाध्यापक भई सेवा गरेका थिए। नेपाल भाषाका अतिरिक्त नेपाली, अंग्रेजी, हिन्दी भाषाका ज्ञाता स्व मास्केले वि.सं. २०१७ फागुनदेखि विश्वनिकेतन माविको शिक्षक भएर २८ वर्ष सेवा गरेका थिए।
सोही अवसरमा भाषाविद् तेजरत्न कंसाकारले नेपालको शिक्षा क्षेत्रमा स्व मास्केले दिएका योगदान अतुलनीय रहेको बताउँदै दशकौँसम्म विद्यार्थीमाझ ‘गम्भीरमान सर’को नामबाट पुकारिएको जानकारी दिए। पूर्वप्रधानाध्यापक सत्यनारायण राजभण्डारीले स्व गम्भीरमान मास्केले विश्वनिकेतन माविलाई यो अवस्थामा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै गुणस्तरीय शिक्षा दिन शिक्षाविद् मास्केको अथक योगदानलाई बिर्सन नसकिने बताए।
पूर्वराजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व–उपकुलपति केदारभक्त माथेमाले शिक्षाविद् गम्भीरमानलाई सम्झेर आफूले कक्षा १० मा रहेको अंग्र्रेजी पाठ्यपुस्तकमा ‘अ पेन फ्रेण्ड टु गम्भीरमान’ शीर्षकको पाठ लेखेको जानकारी दिए। माथेमाले यो पाठ वरिष्ठ शिक्षाविद् गम्भीरमान मास्केलाई सम्झँदै लेखेका हुन्। विश्वनिकेतनको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठ तथा प्रधानाध्यापक हेरम्बराज कँडेलले विश्वनिकेतन मावि सरकारी विद्यालय भएर पनि उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिए। –रासस